विश्वभर कोरोना संक्रमितको संख्या ४२ करोड नाघ्यो, ५८ लाख ८३ हजारले ज्यान गुमाए

-



     सफल आवाज    
     फागुन ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ फागुन । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४२ करोड नाघेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार संसारभर ४२ करोड ३ लाख ६० हजार २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मात्रै २० लाख २८ हजार ४९५ जनामा संक्रमण देखिएको छ भने ५८ लाख ८३ हजारभन्दा बढीको निधन भएको छ । अहिलेसम्म १० मुलुकहरु करोडभन्दा बढी संक्रमित हुने देशको सूचीमा छन् । अमेरिका, भारत, ब्राजिल, फ्रान्स, बेलायत, रुस, टर्की, जर्मनी, इटाली र स्पेनमा १ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमण फैलिएको मुलुक हो, अमेरिका । अमेरिकामा हालसम्म ७ करोड ९९ लाख १५ हजार ७३४ जनामा संक्रमण पुष्टि भइसकेको छ । अमेरिकापछि बढी संक्रमित भारतमा देखिएका छन् । भारतमा ४ करोड २७ लाख ८० हजार २३५ जनामा कोरोना संक्रमण भएको छ ।

तेस्रो बढी संक्रमण फैलिएको मुलुक हो, ब्राजिल । ब्राजिलमा २ करोड ७९ लाख ४१ हजार ४७६ जनामा संक्रमण फैलिएको छ भने फ्रान्समा २ करोड २० लाख ६८ हजार ६३५ जना संक्रमित छन् ।

अहिलेसम्म सबैभन्दा बढी कोरोनाबाट ज्यान गुमाउने पनि अमेरिकाकै नागरिक छन् । अमेरिकामा हालसम्म ९ लाखभन्दा बढीको ज्यान गइसकेको छ । विश्वभर ५८ लाख ८२ हजार ६३ जनाले ज्यान गुमाउँदा अमेरिकामा मात्रै ९ लाख ५५ हजार ४९७ जनाको निधन भइसकेको छ ।

तथ्यांकअनुसार कोरोनाका कारण सबैभन्दा बढीको ज्यान गुमाउने मुलुक अमेरिका, ब्राजिल, भारत, रुस, फ्रान्स, बेलायत, जर्मनी, इटाली, अर्जेन्टिना, इरान, कोलम्बिया, मेक्सिको, इन्डोनेसिया, युक्रेनलगायतका देशहरु रहेका छन् । ब्राजिलमा पनि ६ लाख ४१ हजार ९९७ जनाको ज्यान गइसकेको छ भने भारतमा ५ लाख १० हजार ९३७ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म संसारभर ३४ करोड ४६ लाख ७८ हजार ६१६ जना कोरोनाका बिरामी संक्रमणमुक्त भइसकेका छन् भने ७ करोडभन्दा बढी संक्रमित रहेका छन् ।