ग्लोबल आइएमई लघुवित्तले सीतालाई बनायाे उद्यमी

-



     सफल आवाज    
     फागुन ९ गते २०७८ मा प्रकाशित



गाेर्खा, ९ फागुन । गोरखाको गोरखा नगरपालिका–५ काफलघारकी सीता थापामगरको १७ वर्षको उमेरमै विहे भयो । १० कक्षामा अध्ययन गरिरहेकै बेलामा विहे भएपछि दोहोरो जिम्मेवारी सम्हाल्नुपर्‍यो । एकातिर सानै उमेरमा विहे र अर्कोतिर बुवा गुमाउँदा उनलाई सानै उमेरमा जिम्मेवारीको बोझ थपियो ।

माइतीघरमा आमाले पनि अर्को विहे गरेपछि स–साना भाइबहिनीहरुको जिम्मेवारी पनि सम्हानुपर्ने भयो । आफ्नो परिवार र भाइबहिनीहरुको हेरचाहमै जुटेकी उनलाई गाउँमा कसैले ऋण सहयोगसम्म पत्याएनन् । कसैले ऋण पत्याइहाले पनि चर्को ब्याज लिने भएपछि उनी वित्तीय संस्थाको दैलोमा पुगिन् ।

२०७२ साल मंसिर महिनामा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था (साबिकको रिलायबल माइक्रोफाइनान्स) को कर्मचारीसँग भेट गरेपछि उनले १५ जना गाउँकी दिदी बहिनीहरुलाई जम्मा गरेर ५ दिने तालिम लिइन् । संस्थाको नियम तालिममा सहभागी भएकालाई मात्रै सदस्यता दिनु थियो । सीता लघुवित्तको सदस्य बनिन् । सदस्य भएपछि २०७३ वैशाख ६ मा उनले किराना पसलमा लगानी गर्ने भनेर १५ हजार रुपैयाँ ऋण लिइन् । त्यसपछि उनले २०७४ वैशाखमा दोस्रो पटकमा ५० हजार रुपैयाँ ऋण थपेर बंगुरपालन गरिन् ।

आफूले गरेको व्यवसाय तथा पशुपालनबाट आएको नाफाले किस्ता तिर्दै केही रकम बचत गर्दै र श्रीमानकाे जागिरबाट प्राप्त रकम बचत गरेर सो ठाउँमा घडेरीसमेत किनिन् । २०७५ जेठ ६ गते २ लाख रुपैयाँ ऋण थपेर ६ कोठो पक्की घरसमेत बनाइन् । त्यसमा श्रीमानको जागिरे पैसासमेत लगानी भयो ।

२०७६ असोज मा २ लाख रुपैयाँं लगानी थपेर घरमा नै फ्रेसहाउस सञ्चालन गरी बचेको पैसाले कुखुराको सानो खोर बनाई व्यवसाय थप वृद्धि गरिन् । अहिले उनलाई आयआर्जनमा निकै सफलता मिलेको छ । उनका अनुसार वित्तीय संस्थाले परिश्रमीलाई सहयोग गर्छ । निम्न आयस्तर भएका व्यक्तिहरुलाई उद्यमी बन्ने बाटो देखाएको उनले बताइन् ।

अहिले उनले सुरु गरेको व्यवसायबाट आफ्नो श्रीमान् भाइबुहारी समेतले बेरोजगार बस्नुपरेको छैन । दैनिक व्यवसाय कम्तिमा दैनिक ८ हजार कमाइ गर्ने सीताको परिवारले मासिक अढाई लाख रुपैयाँ गाउँमै कमाउने गरेका छन् । उनले सञ्चालन गरेको ‘चन्द्र एण्ड सीता पशुपालन फर्म’मा १७ वटा बंगुर, २२ वटा कुखुरा, ८ वटा बाख्रा छन् । आफ्नै घरमा किराना पसल, फ्रेस हाउस आदि व्यवसाय सञ्चालनबाट उनीहरुले मनग्य आम्दानी गरिरहेका छन् ।