
जनकपुर, १० फागुन । केही वर्षअघिसम्म पूर्वाधार विकासमा पछाडी परेको मधेस प्रदेशमा पछिल्लो समय तीव्र गतिमा पूर्वाधार निर्माण भएका छन् । भौतिक पूर्वाधारको विस्तारसँगै प्रदेशवासी पनि खुसी भएका छन् । प्रदेश सरकार गठन भएको चार वर्षको अवधिमा मधेश प्रदेशले सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य सेवा, कृषि, सिँचाइलगायत पूर्वाधार निर्माणको क्षेत्रमा ठूलो फड्को मारेको हो । सो अवधिमा प्रदेशको ८ वटै जिल्लामा एक हजार ६२३ किलोमिटर सडक विस्तार भएको जनाइएको छ ।
प्रादेशिक भौतिक पूर्वाधार मन्त्रालयका अनुसार प्रदेशभर २२४ किलोमिटर सडक कालोपत्र, २३७ किलोमिटर सडक ढलान, ९३७ किलोमिटर सडक ग्राभेल र २२५ किलोमिटर कच्ची सडक निर्माण गरिएको थियो । सडक निर्माण भएसँगै सवारीसधान सञ्चालनमा सहज भएको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले बताए । सोही अवधिमा ३२ पुल र २९२ कल्भर्ट निर्माण गरी सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए ।
‘हामीले सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौं,’ मन्त्री यादवले भने, ‘सडक र पुल निर्माणलाई तीव्रता दिएसँगै यातायातका साधन सञ्चालनमा सहज भएको छ ।’ केही वर्षभित्रै प्रदेशका अधिकांश सडक कालोपत्र गरिसक्ने लक्ष्य लिइएको उनको भनाइ थियो ।
सरकारको नीति तथा कार्यक्रममा रहेका झोलुंगे पुलमध्ये तीनवटा निर्माण भइसकेको र बाँकी ७ निर्माणको चरणमा रहेको जनाइएको छ । ८ वटै जिल्लाका विभिन्न स्थानमा जनता आवास कार्यक्रममार्फत् ९ हजार ४५ जनता आवास भवन, ९ सरकारी भवन तथा ९७ सामुदायिक भवन निर्माण गरिएको थियो । केही दिनअघि प्रदेश सरकारले सार्वजनिक गरेको ४ वर्षे उपलब्धि प्रतिवेदनमा सिँचाइतर्फ २४ हेडबक्स, १७४ किलोमिटर कच्ची नहर, २९ किलोमिटर पक्की नहर र ७८ किलोमिटर तटबन्ध निर्माण गरिएको उल्लेख छ ।
उक्त मन्त्रालयका अनुसार सो अवधिमा तटबन्ध निर्माण गरी प्रदेशभर ८ हजार ७४ हेक्टर खेतीयोग्य जग्गा संरक्षण गर्नाका साथै ५३ किलोमिटर बस्ती संरक्षण र २६ किलोमिटर घाट निर्माण गरिएको मन्त्रालयका सचिव दीपककुमार दासले जानकारी दिए ।
यसबाहेक प्रदेशको ६४ वटै निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक कालोपत्र गर्नका लागि बोलपत्र आह्वान भइसकेको उनको भनाइ थियो । शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई उच्च प्राथमिततामा राखेको प्रदेश सरकारले ८ वटै जिल्लाका विभिन्न स्थानमा ६० बर्थिङ सेन्टर, ७६ सामुदायिक भवन, १८ धर्मशाला, ३ योग भवन, २ शिशु सदन, २० खेलमैदान, ५ छात्रावास, २२ विद्यालय भवन, ३ वृद्धाश्रम, ९ रंगशाला, ३ कभर्डहल, २ अस्पताल, २ पुस्तकालय, ७ मदरसा, ३ मस्जिद, १ बालगृह र २ वटा शौचालय निर्माण गरिएको जनाइएको छ ।
सो अवधिमा प्रदेशका विभिन्न जिल्लाको ३१ विद्यालय र २ वृद्धाश्रम भवन मर्मत तथा स्तरोन्नति गरिएको थियो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्रालयले सबैभन्दा होचो स्थान धनुषाको मुखियापट्टी गाउँपालिकाको मुसहरनियाँमा भ्यू टावर निर्माणको काम अघि बढाउन लागेको छ । त्यसका लागि मन्त्रालयको प्राविधिक टोलीले मुसहरनियाँ पुगेर सम्भाव्यता अध्ययन गरिसकेको छ ।
भ्यू टावरसहित सो ठाउँलाई पिकनिक स्पोर्टको रूपमा विकास गर्नका लागि अध्ययन भइसकेको र छिट्टै अरु काम पनि अघि बढाइने मन्त्री यादवले जानकारी दिए ।
सरकार गठन भएदेखि नै प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले प्रदेशको विकासमा सकारात्मक परिणाम देखापरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले बताए । खानेपानी, सिँचाइ, सडक विद्युत्, पुल, भवनजस्ता आधारभूत भौतिक पूर्वाधार निर्माण तथा विस्तार गरी प्रदेशका जनतालाई सामाजिक एवं आर्थिकरुपले समृद्ध बनाउने उद्देश्यले पूर्वाधार निर्माणमा जोड दिइएको उनको भनाइ थियो ।
सहर र ग्रामीण भेगलाई जोड्न सडक पूर्वाधारलाई महत्व दिएर त्यहीअनुसारको योजना बनाइ सरकार अघि बढेको मन्त्री साहले बताए । यसरी स्थापनाको छोटो अवधिमै प्रदेश सरकारले शिक्षा, स्वास्थ्यसँगै भौतिक पूर्वाधारमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले जनताको जीवनस्तर बढेको बुद्धिजीवीहरुले बताए । (रासस)






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



