नेशनल लाइफ इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न, २० प्रतिशत लाभांश प्रस्ताव

-



     सफल आवाज    
     फागुन १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० फागुन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३५औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको हो ।

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा रक्तदान कार्यक्रम, देशभरमा ३४ वटा बृद्ध आश्रमहरु खाना खुवाउने र कर्मचारीहरुबीच खेलकुद प्रतियोगिता गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा ५० जनाभन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनको लागि नगद सेयर गरेर २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको जीवन बिमा कोषमा ५० अर्ब हाराहारीमा रकम जम्मा भएको छ भने कम्पनीले चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा आफ्ना बिमितलाई उत्कृष्ट बोनसदर दिन सफल भएको छ ।

कम्पनीले यस आर्थिक वर्षका लागि बिमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँदेखि अधिकतम् प्रति हजार ८५ रुपैयाँसम्म बोनस दिएको जनाएको छ । चालू आवमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रियासमेत अघि बढाएको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बताए ।