आर्थिक अनुशासन राज्यको मेरुदण्ड हाे-अर्थमन्त्री बराल

-



     सफल आवाज    
     फागुन १३ गते २०७८ मा प्रकाशित



पोखरा, १३ फागुन । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जिवनले आर्थिक अनुशासन नै राज्यको मेरुदण्ड भएको बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले शुक्रबार पोखरामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनका आयामहरु विषयक कार्यशाला गोष्ठीमा बोल्दै प्रमुख अतिथि बरालले आर्थिक र वित्तिय अनुशासन राज्यको प्राणसंग जोडिएकाले त्यसलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिए ।

उनले संस्थाहरु व्यक्तिगत भन्दा पनि नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकार संस्थाप्रति सदैव सकारात्मक रहेको बताए । राज्यका हरेक प्रणालीलाई अर्थले नै सक्षम तुल्याउने उल्लेख गर्दै अर्थमन्त्री बरालले आर्थिक पारदर्शितामा समेत जोड दिए ।

संस्थाका अध्यक्ष युद्धराज ओलीले तीन तहका सरकारसंग समन्वय गर्दै आफूहरु अगाडी बढने बताए । उनले गण्डकी प्रदेशबाट सुरु गरिएको गोष्ठी सात वटै प्रदेशमा आयोजना गरिने बताए ।

प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले लेखा परिक्षण चुस्त र दुरुस्त बनाउन यस्ता खालका गोष्ठीले सघाउ पु¥याउने उल्लेख गर्दै संस्थाले पोखराबाट कार्यशालाको थालनी गरेको भन्दै धन्यवाद दिए । कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव बाबुराम सुवेदीले नेपालमा स्थानीय तहको राजश्व प्राप्तिका समस्या र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै सीए. अमृत श्रेष्ठले प्रदेश तथा स्थानीय तहको वित्तिय प्रतिवेदन सुधारका क्षेत्रहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने सीए. निर्मल बर्तौलाले आन्तरिक नियन्त्रण प्रणालीको अवस्था र विकासको सान्दर्भिकताका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीमा गण्डकी प्रदेशका स्थानीय तहका प्रमुख कार्यकारी अधिकृत, लेखा प्रमुख, चार्टर्ड एकाउन्टेन्ट्स तथा लेखा परिक्षकहरु गरी १ सय ३० जनाको सहभागिता रहेको संस्थाका निर्देशक विनोद न्यौपानेले बताए ।