प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आज पनि भेटवार्ता हुँदै

-



     सफल आवाज    
     फागुन १४ गते २०७८ मा प्रकाशित



काठमाडाैं, १४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता हुँदैछ । हिजाे साँझ बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा निष्कर्ष ननिस्किएपिछ आज पुनः भेटवार्ता हुँन लागेकाे हाे । उनीहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल टुंगिएकाे छैन ।

प्रमुख प्रतिपक्ष दलका नेता ओलीको पुरानो अडान कायमै रहेको छ, उनले संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुपर्यो भनेका छन्, त्यो वातावरण भयो भने हामी निर्णय गर्छौं भने।” एमाले अध्यक्षले अहिलेको समयमा लोकतान्त्रिक मूल्यमान्यता बोकेका शक्तिहरू (कांग्रेस–एमाले) एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको उनले जानकारी दिए।

छलफलमा ओलीले “हामीले धेरै सङ्घर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौँ, लोकतन्त्रको यात्राका हामी सहयात्री हौँ, लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ, हामीलाई संसद्भित्र प्रवेश गर्ने ढोका अझै खुलेको छैन, त्यो ढोका खोलिदिनुस्, हामी निर्णय गर्छौँ”, भनेका छन् ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले संसद्मा छलफल गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । एमसिसी अनिर्णयको बन्दी बन्नुहुँदैन भन्ने मान्यता एमालेको पनि रहेको भन्दै उनले नेपाली कांग्रेस र एमालेबीचमा समझदारी हुनुपर्नेबारेमा छलफल भएको बताए। ज्ञवालीले छलफलबारे भने, “छलफलमा कांग्रेस गम्भीर देखिएको छ, हामीले पुरानै माग राखेका छौँ, तर सरकारसँग एमालेको माग पूरा गर्ने खाका बनेको पाएनौँ ।”

एमालेलाई संसद्मा प्रवेश गरेर आफ्नो कुरा राख्ने वातावरण सरकारले बनाउनुपर्ने र संसद्मा एमालेले राखेको नाराको माग पूरा गर्नुपर्ने एमालेको धारणा यथावतै रहेको उनको भनाइ छ । एमालेले सरकारमा जाने र लेनदेन गर्नेबारेमा कुनै प्रस्ताव नराखेको भन्दै नेता ज्ञवालीले कांग्रेस र एमालेबीच आज पनि पुनः छलफल हुने बताए।

कांग्रेस ‘अर्लिइलेक्सन’ मा जान चाहेमा एमालेको साथ रहने उनको भनाइ छ । छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीकातर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।