एमसीसी सम्झौता जबरजस्ती अनुमोदन गराउन खोज्नु देशप्रतिको गद्दारी हो : भीम रावल

-



     सफल आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता डा‍. भीम रावलले एमसीसी सम्झौता जबरजस्ती अनुमोदन गराउन खोज्नु देशप्रतिको गद्दारी भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको सामान्य छलफलमा भाग लिँदै उनले एमसीसीमार्फत् नेपाललाई अमेरिकी छातामुनि राख्न खोज्दा पनि नेपाली कांग्रेस नेतृत्वको सरकारले देशप्रति गद्दारी गरेको बताएका हुन् ।

उनले सत्ता र कुर्सीका लागि राष्ट्रिय स्वाधिनता गौण ठान्ने सोच र व्यवहार निन्दनीय रहेको पनि बताए । नेपालको हित र नेपाली जनताको आवाजप्रति बेवास्ता गर्दै सरकारले एमसीसीको विरोधमा उठेको आवाज दमन गर्न खोजेको भन्दै भर्त्सनासमेत गरे ।

डा‍. रावलले भने, ‘राष्ट्रिय स्वाधिनताजस्तो विषय यस्तो होहल्लाका बीच प्रस्तुत गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो, नेपाल राष्ट्रको अपमान हो, यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ ।’