एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन पूर्वप्रधानमन्त्री खनालको माग

-



     सफल आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ फागुन । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको सामान्य छलफलमा भाग लिँदै उनले एमसीसीबारे भएका १२/१३ वटा सम्झौता संसदमा उपलब्ध गराउन माग गरेका हुन् ।

‘मान्छेहरुले के हल्ला गरिरहेका छन् भने यो त झलनाथ खनालको पालामा सुरु भएको हो,’ उनले भने, ‘म यो सदनलाई जानकारी गराउन चाहन्छु, मैले कुनै सहमति गरेको छैन । न कुनै सैद्धान्तिक सहमति गरेको छु, न कुनै व्यवहारिक सम्झौता गरेको छु, न कुनै चिठ्ठी पत्र लेखेको छु ।’

उनले सम्पूर्ण दस्तावेजहरु सदनमा नल्याई छलफल हुन नसक्ने बताए । ‘म २७५ जना सांसदहरुलाई आग्रह गर्न चाहन्छौं, तपाई हामी भेडाबाख्रा होइनौं, जनताका प्रतिनिधि हौं । कुनै पनि सम्झौतबारे ए टू जेड हेर्न पाउनुपर्छ, अध्ययन गर्न पाउनुपर्छ । अनि मात्र यो सदनले के गर्ने भन्ने निर्णय गर्नुपर्छ ।’

अमेरिकाले दिने सहयोग नलिने भनेर कहिल्यै नभनेको उनले बताए । तर सम्मान र समानताका साथ दिइने सहयोग मात्र लिइनुपर्ने उनले बताए ।