रोकिएन सेयर बजारको ओरालो लागेको यात्रा, कारोबारमा अपि पावर अब्बल

-



     सफल आवाज    
     फागुन १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ फागुन । सर्वाधिक चर्चामा रहेको एमसिसि पास भएको भोलिपल्ट आज त्यसको विरोधमा विभिन्न दलहरुले संयुक्त रुपमा आयोजना गरेको नेपाल बन्दको दिन सेयर बजार सकारात्मक हुन सकेन ।

साताको सेयर कारोबार हुने दोश्रो दिन नेपाली सेयर बजार राताम्मै भएको छ । कारोबार रकममा पनि कमि आएको छ । धेरैले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) संसदबाट पारित भएपछि त्यसको सेयर बजारमा सकारात्मक प्रभाव पर्ने आकलन गरिएको भएपनि लगानीकर्तामा सो अनुसारको मनस्थिति देखिएन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ४३.१० अंकले गिरावट भई २६१०.६० विन्दुमा पुगेको छ । नेप्से यसदिन १.६२ प्रतिशतले घटेको छ । सेन्सेटिभ इन्डेक्स ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा रहेको छ ।

कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । ७८ लाख चौतिस हजार ९१५ कित्ता सेयरको खरिदबिक्रीबाट तीन अर्ब ६६ करोड १८ लाख ९ हजार ८६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी अपि पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको १६ करोड ९ लाख ९९ हजार ८४५ रुपैयाँ ४० पैंसा बराबरको कारोबार भएको छ ।