
काठमाडौं, १७ फागुन । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भएपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) उत्साहित भएको छ ।
आर्थिक विकास र समृद्धिका लागि एमसीसी सम्झौता अनुमोदन हुनु आफैँमा महत्वपूर्ण रहेको भन्दै महासंघले सो सम्झौताका सन्दर्भमा रहेका सबै भ्रमसमेत विस्तारै निवारण भएर जाने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाबाट केही बुँदामा रहेको अस्पष्टतासमेतलाई प्रष्ट पार्दै त्यसको व्याख्यात्मक घोषणाका साथ सम्झौता अनुमोदन भएकोमा अब यसका विषयमा रहेका सबै भ्रम चिरिने विश्वास नेपाल उद्योग वाणिज्य महासंघले व्यक्त गरेको छ ।
महासंघले एक विज्ञप्तिमार्फत नेपाल सरकार र अमेरिकी सहयोग परियोजना एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौताअनुसार विद्युत् प्रसारणलाइन निर्माण र सडक मर्मतको काम संघीय संसद्बाट सम्झौता अनुमोदन पश्चात सुरु हुने भन्दै अब यो परियोजना पूर्णरुपमा कार्यान्वयनको चरणमा जाने बताएको छ । नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत् प्रसारणलाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने महासंघको विश्वास छ ।
सम्झौता कार्यान्वयन हुँदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको ढोका खुल्ने महासंघको भनाइ छ । एमसीसीअन्तर्गतका आयोजना सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि नमूना बन्न सक्ने ठहर गरेको छ । अब यसबाट प्रतिफल लिन सम्झौता कार्यान्वयनका लागि गठित मिलेनियम च्यालेञ्ज अकाउन्ट (एमसीए)ले तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिँदै महासंघले त्यसका लागि सरोकारवाला सबैले खबरदारी गर्नु पनि आवश्यक रहेको जनाएको छ ।
तीन दर्जन बढी मुलुकमा एमसीसीअन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वास व्यक्त गरेको छ । पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप कुनै पनि बहानामा प्रभावित हुनुहुँदैन भन्नेमा महासंघ स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ । सम्झौता अनुमोदनबाट समग्रमा नेपालमा लगानीको वातावरण रहेको सन्देश विश्व समुदायसम्म पुुग्ने र यसबाट भविष्यमा अन्य वैदेशिक लगानी एवं सहायता भित्रिने महासङ्घको भनाइ छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




