आइओसीबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

-



     सफल आवाज    
     फागुन १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ फागुन । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतबाट नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो ।

नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । हवाई इन्धनमा पनि प्रतिलिटर ३.३२ रुपैयाँ बढेको आयल निगमले जनाएको छ ।

निगमका सह–प्रवक्ता पुष्कर कार्कीका अनुसार एलपीजी ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँ बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ घाटा हुने देखिन्छ ।

निगमका अनुसार १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ र मासिक ६ अर्ब १८ करोड घाटा हुनेछ । मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

चालू आर्थिक वर्ष ०७८/७९ मा मात्रै निगमले करिब २८ अर्ब नोक्सानी व्यहोरेको जनाएको छ । निगमका अनुसार पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाई राख्न पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ बमोजिम सानो अंशले मूल्य समायोजन गर्दा अब प्रति महिना करिब ६ अर्बभन्दा बढी नोक्सानी हुने देखिन्छ ।