फलामे बार नाघेर पशुपतिको दर्शन गर्न जाँदै भक्तजन (फोटोफिचर)

-



     सफल आवाज    
     फागुन १७ गते २०७८ मा प्रकाशित


तस्बिर : रासस


काठमाडौं, १७ फागुन । महाशिवरात्रि पर्वका अवसरमा भगवान् पशुपतिनाथको दर्शनका लागि पशुपतिनाथ क्षेत्रमा लाखौँ भक्तजनले दर्शन गरेका छन् ।

महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको छ भने ढोका खोल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागिसकेको थियो ।

भक्तजनको दर्शनका लागि सहज होस् भनेर पशुपतिनाथ क्षेत्रमा ५०० स्वयम्सेवक परिचालन गरिएको थियो । तर, लाखौं भक्तजनहरुले पशुपतिमा दर्शन गर्न नपाउँदा तिलगंगाबाट केही भक्तजनहरु फलामे बार नाघेर पशुपति प्रवेश गरेका छन् । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर प्रवेश गर्न सहज नभएपछि तिलगंगा क्षेत्रको फलामे बार नाघेर भक्तजनले पशुपतिमा दर्शन गरेका हुन् ।

मन्दिरमा भक्तजनको उपस्थितिलाई ध्यानमा राखेर मन्दिर एवं पूजाको व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज बिहानैदेखि खटिएका थिए । उनले आज बिहान ३ बजे नै मन्दिरमा उपस्थित भई आवश्यक सबै तयारी गरेका थिए ।

यसअघि उनले पाशुपत क्षेत्रका भित्ता तथा खाली स्थानमा भगवान्का तस्बिर बनाउने, विभिन्न रङ्गका फूलले यस क्षेत्र सजाउने आदि काम गर्न निर्देशन दिएका थिए । गएको हप्तादेखि नै महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा गर्नुपर्ने काममा उनी आफैँ खट्ने र निर्देशन दिने गरेकाले यस पटकको महाशिवरात्रि पर्वमा पशुपतिनाथमा मेला तथा दर्शन गर्न सहज र व्यवस्थित भएको देखिएको छ ।

आज मध्याह्नदेखि पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो भीड बढेसँगै सुरक्षाकर्मीको संख्या पनि थप गरिएको बताइएको छ । प्रत्येक वर्ष फाल्गुण कृष्ण चतुर्दशीको राति मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुसी पार्ने विशेष दिन भएको बताइन्छ ।
परब्रह्मले फाल्गुण कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।