यौनिक तथा अल्पसंख्यकद्धारा समान अधिकारको माग

-



     सफल आवाज    
     फागुन २० गते २०७८ मा प्रकाशित



पोखरा २० फागुन । यौनिक तथा अल्पसंख्यकहरुले समान अधिकारको माग गरेका छन् ।

नौलौ बिहानी पोखराले सराेकारवालाहरुसंग आयोजना गरेको अन्तरक्रियामा बोल्दै नौलो बिहानी पोखराकी प्रमुख रजनी थकाली (फुपु) ले तेस्रो तथा समलिङ्गीलाई राज्य र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनपर्ने बताइन् ।

उनले परिवार, विद्यालय र सार्वजनिक स्थानमा समेत अल्पसंख्यकहरुलाई विभेद हुने गरेको भन्दै विद्यालयस्तर देखि नै तेस्रो तथा समलिङ्गीहरुको विषयमा पाठयक्रममा समावेश गर्न सके विभेद केहि कम हुने उल्लेख गरिन् ।

नेपालमा नीलहिरा समाजको स्थापनासंगै अल्पसंख्यकहरु खुलेर संगठित हुन थालेको उल्लेख गर्दै उनले पुरुष र महिलाले सहजै नागरिकता पाएपनि यौनिक तथा अल्पसंख्यकहरुले निकै कष्ट व्यहोर्नु परेको गुनासो गरिन् ।

त्यस्तै पर्वतका यौनिक तथा अल्पसंख्यक विनोद परियारले आफूहरु हरेक क्षेत्रबाट विभेदमा परेको गुनासो गरे । उनले राज्यबाट प्राप्त सेवा सुविधाबाट बञ्चित हुनुपरेको भन्दै स्वघोषणाका आधारमा नागरिकता पाउनुपर्ने माग गरे ।