एकान्तकुनामा के गर्दैछ पानीजहाज कार्यालय ?

-



     सफल आवाज    
     फागुन २० गते २०७८ मा प्रकाशित



काठमाडौं, फागुन २० । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा नै नेपालमा रेल र पानीजहाज चलाउने विषय प्राथमिकतामा राखेका थिए । दोस्रोपटक प्रधानमन्त्री भएपछि त उनले २०७५ असार १६ गते एक सार्वजनिक कार्यक्रममा नेपालीलाई पानीजहाज चढ्ने मिति नै तोके । सो कार्यक्रमा उनले २०१९ को जनवरी १ मा पानीजहाज चढ्न कोलकाता आउन निम्तो दिएका थिए ।

प्रधानमन्त्री ओलीको त्यो अभिव्यक्तिपछि ‘कवि मन प्रधानमन्त्री कि प्रधानमन्त्री मन कवि’ भएको भन्दै आलोचना भएको थियो । आफ्नो योजनामाथि टिप्पणी गर्नेहरुलाई चुनौती दिँदै उनले भनेका थिए, ‘रेलको कुरा गर्दा खेलौना बनाएर उडाउने, पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउने । अब हेर्दै जानुस्, हनुमाननगरबाट पानीजहाज चल्छ । भारत र चीन दुवै देशबाट रेल चल्छ ।’

प्रधानमन्त्री भएकै बेला उनले २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय उद्घाटन गरे । पानीजहाज कार्यालय उद्घाटनपछि उनले नेपालमा विकासको ढोका खुलेको बताएका थिए । तर, कार्यालय उद्घाटन भएको ३ वर्ष बित्दा पनि पानीजहाज सञ्चालनबारे ऐनसमेत बनेको छैन । बिभिन्न नदीहरुको सर्भे गर्ने कामबाहेक अन्य केही नभएको कार्यालयले समेत स्वीकार गरेको छ ।

पानीजहाज कार्यालयको संगठन संरचना हेर्ने हो भने पनि अहिले १६ जना कर्मचारीको दरबन्दी छ । तर, कार्यालयमा भने पर्याप्त कर्मचारी नै छैनन् । कार्यालयमा उपलब्ध कर्मचारी पनि ऐन नबन्दा प्रशासनिक काममै अल्झिनुपरेको छ । पानीजहाज कार्यालयका मेकानिकल इन्जिनियर राजन प्रधानले सफल आवाजसँग कुरा गर्दै भने, ‘पानीजहाज सञ्चालनका लागि हामीले ऐनको मस्यौदा तयार पारेर मन्त्रालयमा पठाएका थियौं । मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो । तर, मन्त्रिपरिषदबाट फिर्ता आयो ।’ उनले अब पुनः मस्यौदा परिमार्जन गरेर मन्त्रालयमा पठाउने तयारी भएको बताए ।

प्रधानका अनुसार सरकारले समयमै पुरानो पानीजहाज ऐन संशोधन गरेको भए सम्भावना भएका नदीहरुमा आवश्यक अध्ययन गरेर व्यवसायीहरुले अनुमति लिइ साना डुंगाहरु सञ्चालनमा ल्याइसकेका हुन्थे । भौतिक पूर्वाधार मन्त्रालयको मातहतमा रहने गरी सञ्चालनमा आएको कार्यालयले २०२७ सालमा बनेको पानीजहाजसम्बन्धी ऐन संशोधनमै लामो समय लागेको उनले बताए ।

पानीजहाज कार्यालयले कर्णाली (खिमडी-खक्रौला), काली गण्डकी (देवघाट-राम्दी) नारायणी (गण्डक-देवघाट) र कोशी (चतरा-तुम्लिङटार) सम्म पानीजहाज सञ्चालन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरेको छ । सम्भाव्यता अध्ययनपछि राप्तीको बबही र सुनकोसी नदीको अध्ययन सुरुवाती चरणमा रहेको उनले बताए ।

‘कालीगण्डकीको ९५ किलोमिटर, कोशीको ७५ किलोमिटर, कर्णालीको ११५ किलोमिटर र नारायणी ८५ किलोमिटर अध्ययन गरिएको छ,’ प्रधानले भने । उनका अनुसार अध्ययनका क्रममा नदीमा कतै ठुल्ठूला ढुंगा त कतै १५ देखि २० मिटरसम्म गहिरोसमेत भेटिएको छ ।

अहिलेसम्म कति खर्च भयो ?

स्थापना कालदेखि हालसम्म पानीजहाज कार्यालयमा २६ करोड ९३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भइसकेको छ । जसमा ९ करोड ४७ लाख ७४ हजार ५०५ रुपैयाँ खर्च भइसकेको पानी जहाज कार्यालयको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार पानीजहाज कार्यालयका लागि सरकारले आर्थिक वर्ष ०७५/७६ मा १ करोड ३२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । जसमा चालू खर्चअन्तर्गत ८९ लाख ५० हजार विनियोजित रकममध्ये ४५ लाख ६५ हजार १४० रुपैयाँ खर्च भएको थियो भने पुँजीगत खर्चअन्तर्गत ४३ लाख रुपैयाँ विनियोजित रकममध्ये २२ लाख ९९ हजार ३६५ रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा कुल विनियोजित ९ करोड ७२ लाखमध्ये चालू खर्च २ करोड ९ लाख र पुँजीगत खर्च ७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको थियो । जसमा चालूतर्फ १ करोड ४ लाख र पुँजीगततर्फ १ करोड ७८ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा ७ करोड ३० लाख विनियोजित बजेटमध्ये चालू खर्च १ करोड ७४ लाखको १ करोड १ लाख खर्च र पुँजीगततर्फ ५ करोड ५६ लाखको ४ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७८/०७९ मा पानीजहाज कार्यालयका लागि ८ कराेड ५९ लाख विनियोजन भएको थियो । जसमा अहिलेसम्म ६ करोड ७५ लाख पुँजीगत खर्चमध्ये ३ लाख ८२ हजार रुपैयाँ र १ करोड ८४ लाख चालू खर्चमध्ये ४८ लाख २८ हजार रुपैयाँ खर्च भइसकेको कार्यालयले जनाएको छ ।

नेपालमा पानीजहाजको इतिहास

नेपालमा पानीजहाजको इतिहास २०२७ सालमा तत्कालीन राजा महेन्द्रको समयदेखि लिइन्छ । पानीजहाजको सम्भावनाका बारेमा ०२७ सालमा अध्ययन भएको थियो । त्यो बेलामै पानीजहाज सञ्चालनसम्बन्धी पानीजहाज दर्ता ऐन २०२७ लगायतका ४ वटा ऐन बनेका थिए ।

नेपाली पानीजहाजलाई विदेशी बन्दरगाह वा विदेशी क्षेत्रीय समुद्रमा रहँदा सन्धिद्वारा प्रदत्त सुविधा तथा शुल्कहरू र उचित सम्मानको अधिकार दिलाउने उद्देश्यले नेपालको व्यापारिक पानीजहाजको झन्डासम्बन्धी ऐन २०२७ बनेको थियो ।

२०२८ सालमा तत्कालीन सरकारले पानीजहाज किन्न तथा सञ्चालनका लागि ‘रोयल नेपाल सिपिङ कर्पोरेसन’ नामक संस्था नै खडा गरी प्रक्रिया अगाडि बढाएको थियो । यो कर्पोरेसनले ब्रिटिस कम्पनीसँग पानीजहाज खरिद गरेको थियो ।