मानवअधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशन साेमबार पाेखरामा हुने

-



     सफल आवाज    
     फागुन २२ गते २०७८ मा प्रकाशित



पाेखरा, २२ फागुन । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को पाँचौं राष्ट्रिय महाधिवेशन भोलि (सोमबार) पोखरामा हुने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एलाइन्सका अध्यक्ष मिनबहादुर शाहीले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

सामाजिक र आर्थिक रुपान्तरणका लागि मानवअधिकारको सुनिश्चिता, सुसंस्कृत सम्मुनत समृद्धि नेपाल निर्माण हाम्रो प्रतिवद्धता भन्ने नारासहित पोखराको जिरो किलोमिटरस्थित न्यू एरा पार्टी प्यालेसमा हुने महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।

महाधिवेशनमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सबै वर्ग र समुदायसम्म नागरिक स्वतन्त्रता जस्ता विषयहरुमा मानवअधिकार रक्षकहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल हुने एलाइन्सका अध्यक्ष शाहीले बताए ।

महाधिवेशनमा देशका ७६ जिल्लाबाट २ सय ५० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने छ । महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको इन्सेक गण्डकीका संयोजक एवं एलाइन्सका केन्द्रीय सदस्य शिव खकुरेलले जानकारी दिए ।

यसैबीच, महाधिवेशनका अवसरमा एलाइन्सले भोलि (सोमबार) रक्तदान कार्यक्रमको आयोजना गरेको छ । न्यु एरा पार्टी प्यालेसमा बिहान ८ बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरिएको मञ्चले जनाएको छ ।

२०५६ साल असार २९ गते स्थापना भएको मञ्चले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरको छ । संंस्थामा १ हजार ३ सय भन्दा बढी सदस्यहरु आवद्ध रहेका छन् ।