
काठमाडौं, २३ फागुन । नेपालमा पुँजीगत खर्चको ग्राफ निराशाजनक अवस्थामै देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले कतै फकाउँदै त कतै चेतावनी दिँदै पुँजीगत खर्च बढाउन दिएको निर्देशनले फेल खाएको हो ।
मन्त्री शर्माले विभिन्न कार्यक्रम तथा मन्त्रीहरुलाई समेत अर्थ मन्त्रालयमा बोलाएर पुँजीगत खर्च बढाउन आग्रह गर्दै आएका थिए । खर्च बढाउने निकायलाई अन्य मन्त्रालयको खर्च कटाएर भए पनि बजेट थप्ने आश्वासन दिएका मन्त्री शर्मा अहिले भने पुँजीगत खर्चबारे मौन छन् । पुँजीगत खर्च बढाउन पटक–पटक ताकेता गर्दै आएका मन्त्री शर्मा पछिल्लो समय भने पुँजीगत खर्चबारे भाषण दिनसमेत छोडेका छन् ।
हरेक वर्ष लक्ष्यअनुसार ७० प्रतिशत बजेट पनि खर्च नगरेको सरकारले यस वर्ष पनि त्यही अवस्था दोहोर्याउने भएको छ । चालू आर्थिक वर्षको ८ महिना बित्नै लाग्दा पनि पुँजीगत खर्च १९ प्रतिशत पनि भएको छैन । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको फागुन अन्तिमसम्म पनि पुँजीगत खर्च १८.९२ प्रतिशत मात्रै भएको छ ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको सरकारलाई अबको ४ महिनामा ८० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्नुपर्ने चुनौती छ । आइतबारसम्म ७१ अर्ब २ करोड ५७ लाख रुपैयाँ खर्च गरेको पुँजीगत बजेट सोमबार ५१ करोड २६ लाख रुपैयाँ खर्च थपिएको थियो । योसँगै अहिलेसम्म ७१ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ अर्थात् १८.९२ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
चालू खर्च ५१७ अर्ब रुपैयाँ
सरकारले पुँजीगत खर्चको तुलनामा भने चालू खर्च भने निकै वृद्धि गरेको छ । कार्यालयको तथ्यांकअनुसार चालू आवको फागुन अन्तिम सातासम्म ४८.५४ प्रतिशत चालू खर्च गरेको हो । १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको सरकारले अहिलेसम्म ५ खर्ब १७ अर्ब १३ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ । वित्तीय खर्च पनि ३० प्रतिशतभन्दा बढी खर्च भएको जनाएको छ ।
तथ्यांकअनुसार सरकारले १ खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ वित्तीय खर्च गर्ने लक्ष्य लिएको थियो । लक्ष्यअनुसार खर्च भेट्टाउन मुस्किल देखिए पनि पुँजीगत खर्चभन्दा वित्तीय खर्चको ग्राफ भने उकालो लागेको छ । आइतबारसम्म ५७ अर्ब १९ करोड ७१ लाख रुपैयाँ वित्तीय खर्च भएको थियो भने आज सोमबार ११ करोड १८ लाख रुपैयाँ खर्च थपेर ५७ अर्ब ३० करोड ८९ लाख रुपैयाँ वित्तीय खर्च गरेको हो ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




