नियमित मर्मत कार्यका लागि अन्नपूर्ण केवलकार फागुन ३० सम्म बन्द हुने

-



     सफल आवाज    
     फागुन २४ गते २०७८ मा प्रकाशित



पाेखरा, २४ फागुन । न्नपूर्ण केवलकार नियमित मर्मत सम्भारका लागि बुधबार देखि फागुन ३० गतेसम्म बन्द हुने पोखरा । सेदीबगरदेखि सराङ्कोट जाने पाेखराकाे पहिलाे अन्नपूर्ण केवलकार नियमित मर्मत कार्यका लागि फागुन २५ गतेदेखि ३० गतेसम्म बन्द हुने कम्पनीले जनाएको छ ।

केवलकार चैत्र १ गतेदेखि नियमित सञ्चालनमा आउने कम्पनीले जानकारी दिएकाे छ । केवलकार फागुन ६ गतेदेखि नियमित सञ्चालनमा आएको थियो । केवलकारमार्फत पोखराको फेवाताल किनारबाट सराङकोट (दुई किमि दूरी) पुग्न नौ मिनेट समय लाग्छ ।

अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले केवलकार निर्माणमा करिब दुई अर्ब लगानी भएको बताएका छन् । कोरोना महामारीले निर्धारित समयभन्दा केही ढिलो गरी केवलकार सञ्चालन गरिएकाे हो । शुरुआतमा एक अर्ब ३० करोड लागत अनुमान गरिएकोमा संरचना थप र संक्रमणकालीन समयका कारण लागत बढेको कम्पनीको बताएकाे छ ।

कम्पनीमा स्थानीयको २५ प्रतिशतको लगानी छ । केवलकारको १७ डिब्बा यात्रुका लागि र एक गोण्डोला सामान ओसारपसार गर्न प्रयोगमा ल्याइएकाे छ । एक डिब्बामा आठ जनाको सिट क्षमता छ । केवलकारबाट फेवातालसँगै सराङकोटबाट सूर्योदय, मनोरम हिमश्रृंखला, पोखराको दृश्यावलोकन गर्न सकिन्छ ।

केवलकारको माथिल्लो स्टेशनमा भ्यू टावर, गार्डेन, पार्किङ, रेष्टुरेन्ट, कफी सप हुनेछन् । केवलकार निर्माणले आन्तरिक एवं बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने कम्पनीले विश्वास लिएको छ ।