महिलामैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

-



     सफल आवाज    
     फागुन २५ गते २०७८ मा प्रकाशित



पोखरा, २५ फागुन । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले महिलामैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पोखराको रेडियो जननी ९०.६ मेगाहर्जले आफ्नो ८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको “व्यवसायमा महिला, अवसर र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै उनले यस्तो बताए।

मन्त्री थापाले समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन हुँदै आएको उल्लेख गरे। व्यवसायिक, राजनीतिक, शैक्षिक र सामाजिक क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेखनिय रहेको भनाई उनको छ । उनले गण्डकी प्रदेश सरकारले स्तन क्यान्सर र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्ने निर्णय गरेको जानकारी गराए।

क्यान्सर पीडितका लागि नेपाल सरकारले एक लाख र गण्डकी प्रदेश सरकारले ५० हजार उपलब्ध गराउँदै आएको मन्त्री थापाले बताए। उनले व्यवसायिक क्षेत्रमा महिलाहरुको आर्कषण बढाउन प्रदेश सरकारले सहज नीति निर्माण गर्दै आइरहेको बताए।

मन्त्री थापाले प्रदेश सरकारले कोभिड प्रभावित व्यवसायिक क्षेत्रलाई ब्याज सरकारले नै तिर्ने गरी कर्जा उपलब्ध गराउन लागेको बताए। यसका लागि चालू आर्थिक वर्षको जीवन रक्षा कोषमा एक अर्ब रुपैयाँ राखिएको भनाई उनको छ । सामाजिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक क्षेत्रमा महिला पुरुषमा देखिएको विभेदको अन्त्य गर्न सम्बद्ध संघसंस्थाले महिला जागरण सम्बन्धि तालिम समयसमयमा गरीराख्नुपर्ने मन्त्री थापाले बताए।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालको जनगणनाअनुसार ३७ प्रतिशत महिलाहरुले मात्र रोजगारी पाएको बताए। महिलाहरु आफै नै जाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याए ।

पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले महिलाहरुलाई सुरक्षित वातावरण बनाउनुपर्ने बताइन। महिलाका अधिकार र मुद्धाहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरिन् । कार्यक्रममा रेडियोकी संस्थापक अध्यक्ष हिरा भट्टराईलाई जननी सम्मानद्वारा सम्मान गरिएको थियो ।