पितृसत्तात्मक सोंचलाई घरैबाट अन्त्य गरौं–उपसभामुख शर्मा

-



     सफल आवाज    
     फागुन २६ गते २०७८ मा प्रकाशित



पोखरा, २६ फागुन । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले पितृसत्तात्मक सोंचलाई अन्त्य गर्न त्यसको अभियान घरभित्रबाटै सुरु गर्नुपर्ने बताएकी छन् ।

१ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कोपिला नेपाल, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की र महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल कास्कीको संयुक्त आयोजना तथा सामाजिक विकास मन्त्रालय कास्कीको समन्वयमा बुधबार पोखरामा भएको नेतृत्व तहमा महिला सहभागिताको सुनिश्चिता बिषयक अन्तरक्रियामा बोल्दै उपसभामुख शर्माले सो कुरा बताएकी हुन् ।

उनले आगामी स्थानीय तह निर्वाचनमा हरेक राजनीतिक दलहरुले महिला सहभागितालाई समेटनुपर्ने बताइन् । प्रदेश सरकार गठनको ५ बर्ष बितिसक्दा समेत महिला तथा बालबालिका सम्बन्धि एउटापनि विधेयक पारित हुन नसकेको उल्लेख गर्दै उनले महिलाहरु अझैँपनि अधिकार प्राप्तिबाट बञ्चित भएको बताइन् । अधिकारको कुरा गर्दा महिलाहरु स्वयं क्षमतावान हुनेपर्ने उनको भनाइ थियो ।

त्यस्तै कार्यपत्र प्रस्तुत गर्दै कांग्रेस सभासद पुष्पा के.सी.भण्डारीले समाजका हरेक क्षेत्रमा महिला र पुरुषबिच विभेद हुने गरेको बताइन् । उनले जनसंख्याको हिसाबले पुरुषको तुलनामा महिला बढी भएपनि सोही अनुसारको अवसर पाउनबाट बञ्चित हुनुपरेको उल्लेख गरिन् । नीति निर्माण तहमा पुग्न छोरीहरुलाई उच्च शिक्षामा जोड दिनुपर्ने उनको भनाइ थियो ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष विना सिलवालले महिलाहरुले नेतृत्व गरेका हरेक तह र तप्कामा पारदर्शिता तथा छिटो छरितो काम हुने गरेको भएपनि नियार्यक तहमा भने महिलाहरुलाई कम अबसर दिइएको गुनासो गरिन् ।

नेकपा एमाले जिल्ला कमिटि कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले महिलाहरुले उठाएका मागहरु जायज भएको बताउँदै महिलाहरुका माग सम्बोधनका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईं, अधिवक्ता दुर्गा भण्डारी, अखिल नेपाल महिला संघ कास्कीका अध्यक्ष सुशिला पराजुली, यौनिक तथा अल्पसंख्यक दिपिका थापा, वडा ६ का जनप्रतिनिधि पुष्पा घले पहारी लगायतले महिलाहरुका हक अधिकारको बारेमा बोलेका थिए । कार्यक्रमको सहजीकरण इन्सेक गण्डकीका अधिकृत सवनम शर्माले गरेकी थिइन् ।