प्रचण्ड र नेपालबारे ओलीको टिप्पणी : कताका जंगेहरू कताका बंगे भए

-



     सफल आवाज    
     फागुन २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपालबारे टिप्पणी गर्दै बुद्धि विग्रेर दुई तिहाईको सरकार ढालेको टिप्पणी गरेका छन् । शुक्रबार नेपाल प्रेस चौतारीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘कताका जंगेहरू कताका बंगे भए । बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नु हुँदैन ।’

उनले आफ्नै सरकार ढालेर अर्को सरकारबाट आशा गरेको संकेत गरे । उनले भने, ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोका बाहिर पर्खिएर बसेका हुन्छन् भित्रबाट प्रसाद आउँछ कि भनेर ।’ सर्वोच्च अदालतमाथि टिप्पणी गर्दै उनले कसैले नपत्याउने गोरु ब्याएको बताए । उनले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छासमेत जन्माएको टिप्पणी गरे ।

‘संविधान बाहिर गइगइकनै हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ कि एउटा जननिर्वाचित सरकारलाई ढालेका छौँ । नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उनले उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पायो ।’ उनले भने ।

पत्रकारिताबारे कुरा राख्दै उनले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताए । सामाजिक सञ्जाल पनि बरु सूचना दिने खालको हुनुपर्ने उनको भनाइ थियो । ‘हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन,’ उनले भने, ‘बरु सूचना, ज्ञान दिने खालको हुनुपर्छ ।’

फरक प्रशंगमा अध्यक्ष ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्‍याए । ‘सम्बोधन गर्दै उनले रामका बा ठोरीका भएको बताए । ‘राम माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उहाँले मेसोपोटामियाबाट रथ ल्याएर १० वटा रथ बनाए । उहाँको नाम नेगीबाट दशरथ बन्यो ।’ उनले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वभाविक नहुने बताए ।

‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने,’ उनले भने, ‘राम राज्य कस्तो थियो ? कसैलाई थाहा छैन ।’ सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे ।