२१४ अर्ब नाघ्यो सहुलियतपूर्ण कर्जा, पुनर्कर्जामा १५३ अर्ब लगानी

-



     सफल आवाज    
     फागुन २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जामा १ खर्ब ५३ अर्बभन्दा बढी लगानी पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा चालू आर्थिक वर्षको माघ मसान्तमा पुनर्कर्जामा लगानी १ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुगेको हो भने सहुलियतपूर्ण कर्जा १ लाख ४२ हजार ३४४ ऋणीलाई २ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ५८ हजार २६९ ऋणीलाई प्रवाह भएको १ खर्ब ३६ अर्ब ८३ करोड रुपैयाँ कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८१ हजार २२७ महिला उद्यमीलाई प्रवाह भएको ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ८४८ ऋणीको ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ बमोजिम कोभिड-१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा माघ मसान्तसम्ममा १ अर्ब १३ करोड स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अन्तर-बैंक कारोबार

आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा वाणिज्य बैंकहरुको १८ खर्ब ९३ अर्ब २८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबाहेक) को २ खर्ब ३६ अर्ब ९३ करोड गरी कुल २१ खर्ब ३० अर्ब २१ करोडको अन्तर-बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ३ खर्ब ६३ अर्ब २५ करोड र अन्य वित्तीय संस्थाहरुको १ खर्ब २९ अर्ब ८ करोड गरी कुल ४ खर्ब ९२ अर्ब ३३ करोड अन्तर बैंक कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार गत वर्षको माघमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १.१३ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको माघमा ५.३२ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर गत वर्षको माघमा ०.५८ प्रतिशत रहेकोमा चालू आवको माघमा ४.७८ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने भारित औसत अन्तर-बैंक (बैंक तथा वित्तीय संस्था) ब्याजदर चालू आवको माघमा ४.८० प्रतिशत रहेको हो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर ०.५९ प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरुको औसत आधारदर गत आवको माघमा ६.९७ प्रतिशत रहेको थियो भने चालू आवको माघमा ८.५३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.४९ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.३१ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ४.८६ प्रतिशत र ८.८९ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गरेपछि चालू आवको माघ मसान्तसम्म २३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १७७ संस्थाहरुको इजाजत खारेज भएर ६२ संस्था कायम भएका छन् ।

वित्तीय पहुँच

कुल ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । गत वर्षको पहिलो ७ महिना अर्थात् माघसम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या चालू आवको माघ मसान्तमा १२८ रहेको छ ।

यसमध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या गत असार मसान्तमा १० हजार ६८३ रहेको थियो भने माघ मसान्त सम्म शाखा सञ्जाल बढेर ११ हजार २५५ पुगेको राष्ट्र बैंकले जनाएको छ ।