१० हजार जनसंख्या भएका स्थानीय तहले पौने ३ करोड अनुदान पाउने

-



     सफल आवाज    
     फागुन २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ फागुन । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी थालेसँगै संवैधानिक आयोग प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ ।

आयोगले शुक्रबार मात्रै तथ्य र सूत्रका आधारमा समानीकरण अनुदानको सीमा तय गरेको हो । उक्त अनुदानको सिफारिसका लागि मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षक तय गरी मूल्यांकन गरिएको छ ।

सो मूल्यांकनका आधारमा ७ प्रदेशले कूल ४३ अर्ब ७७ करोड ३ लाख र स्थानीय तहले ७० अर्ब ७ करोड ९९ लाख पाउनेछन् । यस आधारमा समानीकरण अनुदानतर्फ संघीय सरकारले १ खर्ब १३ अर्ब ८६ करोड २ लाख बराबरको बजेट उपलब्ध गराउनेछ । आयोगले मानव विकास सूचकांकमा १०, आर्थिक सामाजिक असमानतामा पाँच, पूर्वाधार विकासतर्फ १० प्रतिशत बराबरको भार तय गरेको छ ।

पूर्वाधारमा सडकको घनत्व, विद्युत्को सुविधा, सूचना प्रविधिको पहुँच, खानेपानी र सरसफाइलाई उपसूचकमा राखिएको छ । राजश्वको अवस्थामा ५ प्रतिशत र खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमतामा ७० प्रतिशत सूचकको भार राखिएको छ ।

आयोगका अनुसार वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेशका हकमा जनसंख्या र क्षेत्रफललाई समान भार दिइएको छ । स्थानीय तहको हकमा सिफारिस गर्दा जनसंख्यालाई मुख्य आधार बनाइएको छ । प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा १० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहले कम्तीमा २ करोड ७५ लाखमा नघट्ने गरी अनुदान पाउनेछन् ।

आयोगका अनुसार १० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहको संख्या ४७ छन् । १० हजारदेखि २० हजार बराबरको जनसंख्या भएका स्थानीय तह १९० छन् । ती स्थानीय तहले न्यूनतम ३ करोड रुपैयाँ बराबरको वित्तीय समानीकरण अनुदान पाउँछन् ।

२० हजारदेखि ३० हजार बराबरको जनसंख्या भएका स्थानीय तह २०६ छन् । ती स्थानीय तहले न्यूनतम ३ करोड २५ लाख बराबरको वित्तीय समानीकरण अनुदान पाउँछन् । आयोगका अनुसार ३० हजारदेखि ४० हजार बराबरको जनसंख्या भएका स्थानीय तह १२० छन् । उनीहरूले समान रूपमा ३ करोड ५० लाख बराबरको न्यूनतम वित्तीय समानीकरण अनुदान पाउँछन् ।

कूल ७५३ वटै स्थानीय तहले पाउने न्यूनतम वित्तीय अनुदानको सीमा तय गरी आयोगले सरकारलाई सिफारिस गरेको छ । सोही आधारमा नै उनीहरूले बजेट प्राप्त गर्नेछन् ।