साता दिनमै १ अर्बले घट्यो बैंकहरुको कर्जा लगानी

-



     सफल आवाज    
     फागुन ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० फागुन । पछिल्लो १ सातामा बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ । लगानी योग्य रकम (तरलता) अभाव समस्या समाधान नभएपछि बैंकहरुले कर्जा लगानी ठप्प बनाएका हुन् ।

कतिपय बैंकहरु आफैं कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् भने केही बैंकहरुले कर्जा लगानी रोकेका छन् । बैंकहरुले कर्जाको नयाँ निवेदन नै लिन छाडेपछि कर्जा लगानी घटेको हो।

नेपाल बैंकर्स संघका अनुसार नयाँ लगानी रोकिएको र पुरानो थोरै उठेकाले १ सातामा १ अर्ब रुपैयाँले ऋण घटेको हो । २० फागुनसम्म २७ वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ थियो ।

२७ फागुनसम्म कर्जा लगानी घटेर ४१ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको बैंकर्स संघले जनाएको छ । कर्जा लगानी ठप्प हुँदा बैंकहरुको निक्षेपमा भने झिनो सुधार देखिएको छ ।