भरतपुरका सहकारीलाई १७ लाखको सामग्री

-



     सफल आवाज    
     चैत्र ३ गते २०७८ मा प्रकाशित



चितवन, ३ चैत । भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत सहकारी संघ संस्थालाई अनुदानस्वरुप विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गरेकी हुन् । महानगरभित्रका ७ सहकारीलाई महानगरबाट अनुदानस्वरुप १७ लाख बराबरको सामग्री प्रदान गरेको हो । समाज उत्थान कृषि सहकारी संस्था भरतपुर–२१ र सर्वोद्धय बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–६ लाई ५/५ लाख बराबरका तोरी मिल प्रदान गरिएको छ ।

त्यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई २ लाखको सामग्री, नवसुन्दर बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई १ लाख ५० हजारको कम्प्युटर इन्भटर र प्रिन्टर, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई १ लाखको कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको हो ।

त्यस्तै उज्जवल बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई १ लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन, आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्था भरतपुर–२४ लाई १ लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरिएको महानगरको सहकारी शाखाकी विष्णु आचार्य घिमिरेले जानकारी दिइन् ।

महानगर देशकै सहकारीको जननी भएकाले महानगरभित्र राम्रो गरेका सहकारीको स्तर विकासका लागि सहयोग प्रदान गरिएको महानगर प्रमुख दाहालको भनाइ छ । सहकारीले समाजमा भएको गरिबीलाई घटाउन योगदान दिएकाले आफूहरूले पनि सहकारीको विकासमा ध्यान दिएको उपप्रमुख शाह ठकुरीले बताइन् ।

महानगरको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा प्रमुख तेजेन्द्र पौडेलले महानगरले कृषि क्षेत्रको विकासमा धेरै ठूलो लगानी गरी परिणाममुखी काम गरेको बताए ।