
काठमाडौं, ४ चैत । ललितकला क्षेत्रका कलाकारको एक समूह काठमाडौंको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू–थलीबाट देखिने उपत्यकाका दृश्यलाई क्यान्भास र आर्ट पेपरमा सजाउन पुग्याे। रङ्गैरङको पर्व होली अर्थात् फागूका अवसरमा उनीहरुले त्यहाँबाट दृश्यपान गर्न सकिने प्रकृतिका उपहारलाई जलरङले क्यान्भास भरे ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले बुद्धिष्ट संस्कृतिलाई मिथक बनाउँदै रङ्गिन सहरको परिकल्पना गरे। उनले रङको उत्सव भएकाले त्यसमा कल्पना भरेर आफूलाई आनन्द दिने रङ्गिन सहरको कला सिर्जना गरे ।
पर्वको अबसरमा त्यसैलाई जोडेर आयोजना गरिने यस्ता कार्यक्रमले चाडपर्वको महत्वलाई अझ बढाइदिने र सिर्जनालाई थप प्रोत्साहन हुने हुँदा यसरी कार्यशाला आयोजना गर्न जरुरी रहेको लामाले सुनाए। अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा यहाँ फागु विशेष कला कार्यशाला भएको हो । उक्त समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक एनबी गुरुङले समाज, संस्कृति र कला एकअर्कामा अन्तरसम्बन्धित हुने भएकाले पनि संस्कृति र पर्वमा कला सिर्जनाले नयाँ आयाम थपिदिने सुनाए ।
समाजले फागुपर्वको अवसरमा कला सिर्जना गरेको हो । रङको पर्व हो, हामी बाह्रै महिना रङ खेलाउने मान्छे यो दिनलाई उत्सवमय किन नबनाउने भनेर कलाकारको समूह टोखा पुगेको कार्यक्रम संयोजक तथा समाजका अध्यक्ष गुरुङले सुनाए । “एक त पर्वको अवसरमा शुभकामना आदानप्रदान पनि भयो, अर्काे रङको फेस्टिवलमा रङसँग जोडिएर केही गरौँ भन्ने भावनाका साथ कार्यशाला आयोजना गरेका हौँ”, कार्यक्रमबारे प्रस्ट्याउँदै उनले थपे ।
सहरबजार थरिथरिका रङले सजिएका छन् । मानिसमात्रै होइन सडक, चोकचौतारा, घर बगैँचा नै रङ्गिन भएको छ । कलाकार सधैँ रङसँग खेल्ने गर्छन् । पर्वलाई अझै कलासँग जोड्दा महत्व थपिने कलाकारहरूको बुझाइ छ । टोखाको भ्यू–थलीबाट देखिने उपत्यकाको दृश्य लोभलाग्दो पनि छ । कुनै बेला उत्कृष्ट सडक निर्माण गरेको भनेर सामाजिक सञ्जालमा भाइरल भई टोखा नगरपालिकाले प्रशंसा बटुलेको उक्त स्थान साँच्चिकै रमणीय छ ।
सूर्याेदय र सूर्यास्तको सुन्दर दृश्यका साथै उपत्यकाको काँठ तथा प्राकृतिक दृश्यले उक्त क्षेत्र पुग्ने मानिसको मन लोभ्याइदिन्छ । यहाँ दैनिक आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी सुनाउँछन् । त्यसैले दर्जनौँ रेष्टुरेन्टहरू खुलेका छन् । अझै त्यहाँबाट उपत्यकालगायत क्षेत्रका दृश्यहरू सुन्दर देखिने भएकाले क्यान्भासमा रङ भर्न कलाकार पनि आतुर हुन्छन् ।
उक्त कला कार्यशालामा कलाकारहरू लामा र गुरुङसहित डिराम पाल्पाली, दीपेन्द्रमान बनेपाली, चन्द्रा श्रेष्ठ, प्रकाश मानन्धर, सुरेश स्याङ्तान, किरण सिगु, राजेन्द्र याकमी, नेमबहादुर तामाङ, उमेशचन्द्र अधिकारी, भीम श्रेष्ठलगायतले जलरङमार्फत दृश्यलाई क्यानभासमा कैद गरे।
यसपालि कोभिड–१९ को असर कम भएकाले पनि फागु थप उल्लासमय भएको थियो । त्यस क्षेत्रमा फागु खेल्न समूहसमूहमा युवाहरू पुगेका देखिए । ती दृश्यलाई पनि कलाकारले समेट्न भ्याएका छन् । कोरोनाका बेला अनलाइनमा सीमित कला कार्यशाला कोरोनाको प्रभाव कम हुँदै जाँदा खुलेर आयोजना हुन थालेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



