प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ चैत । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा होटल रेडिसन काठमाडौंमा इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको हो ।

२०७४ मंसिर २८ देखि बिमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको इन्स्योरेन्स सञ्चालक समितिमा अध्यक्ष डा. घिमिरेलगायत सञ्चालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेशबहादुर मल्ल, अपूर्वप्रसाद जोशी, अनिलप्रसाद श्रेष्ठ र डा. बिमला दाहाल रेग्मी रहेका छन् ।

साधारण सभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवं स्वतन्त्र सञ्चालक अनिलप्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ । साथै कम्पनीको नियमावलीअनुसार समूह ‘ख’ का सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (२) को निर्वाचनबाट शंकर गौतम तथा दीपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरूसमेत पारित गरेको छ ।