छायाँदेवी कम्प्लेक्सको सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

-



     सफल आवाज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ चैत । छायाँदेवी कम्प्लेक्सले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्प्लेक्सले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

आइतबार बिक्री प्रबन्धक नियुक्तिका लागि छायाँदेवी र क्यापिटलबीच सम्झौतामा हस्ताक्षर भएको छ । कम्प्लेक्स तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । कम्प्लेक्सको कूल निर्माण क्षेत्र करिब ३ लाख ५० हजार वर्गफिटभन्दा बढी रहेको छ । जसअन्तर्गत २०० वटा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्यूएफएक्स तथा अन्तर्राष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल ‘दि एलोफ्ट’ सञ्चालन भइरहेको छ ।

कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।