
रूकुम, ७ चैत । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् ।
सोमबार बिहान रूकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रूकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरू गरेको जानकारी दिए ।
‘आगामी आवको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकततामा राख्ने गरी छलफल अगाडी बढाएका छौं,’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मदत गर्ने विश्वास छ ।’ कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी अबदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए ।
उनले प्रमुख सहरसँग ग्रामीण क्षेत्रको दुरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताए । ‘एउटा सहरबाट अर्को सहरको दुरी घटाउने योजना बनाएका छौं । उदाहरणका लागि काठमाडौंबाट पोखराको सडक दुरी २ घण्टा कायम गराउने गरी योजना बनाइरहेका छौं । अन्यत्र पनि यस्तै योजना बनाउँदैछौं,’ उनले भने, ‘ग्रामीण अर्थतन्त्र सुधारमा हामी विशेष ध्यान दिँदैछाै । ग्रामीण क्षेत्रका उत्पादनले सहजै बजार पहुँच पाउने कुराको सुनिश्चितता गरिनेछ ।’
उनले जनतामा आधारित विकास मोडललाई समेत बजेटमार्फत् कार्यान्वयन गर्ने बताए । ‘जनताले विकासको अनुभूति गर्ने किसिमको पूर्वाधार निर्माण योजना अघि बढ्नेछन्,’ उनले भने, ‘निर्माण कार्य गुणस्तरीय होस् भन्ने कुरामा उत्तिकै ध्यान दिइनेछ ।’
उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुन–चाँदी, खानेतेल, प्लाष्टिक, डण्डी तथा डण्डीजन्य वस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य श्रृंखलामा भएको वृद्धिले नेपालमा समेत मूल्य वृद्धिमा चाप परिरहेको बताए । यदपी, मूल्य वृद्धिका लागि राखिएको वार्षिक लक्ष्यको बाञ्छित सीमा भित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको बताए ।
शोधानान्तर घाटालाई बिस्तारै सुधार गर्दै लगेको तथा तरलता अभाव केही दिनभित्रै समाधानउन्मुख भएकाले अर्थतन्त्र बिस्तारै लयमा आउने विश्वास दिलाए । अहिले अबैद्य डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै उनले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




