
काठमाडौं, ७ चैत । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा मुलुकको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ बराबरको पुगेको छ । गत आवको पहिलो ८ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँ रहेको वैदेशिक व्यापार चालू आवमा ४२.१३ प्रतिशतले बढेको हो ।
वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा अघिल्लो आवको पहिलो ८ महिनाको तुलनामा चालू आवमा ३४.५० प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । गत आवको फागुन मसान्तसम्म यस्तो घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ थियो ।
विभागका अनुसार गत आवको पहिलो ८ महिनाका आधारमा मुलुकमा आयात ३८.६४ प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्ममा ९ खर्ब ४३ अर्ब रुपैयाँ मूल्य बराबरको आयात भएकामा चालू आवको समीक्षा अवधिसम्म आयात १३ खर्ब ८ अर्ब पुगेको छ ।
२०७७र७८ को पहिलो ८ महिनाका तुलनामा चालू आवको निर्यात ८२.९० प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्म ८० अर्ब ७७ करोड रुपैयाँ बराबरको निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा १ खर्ब ४७ अर्ब रुपैयाँको निर्यात भएको छ ।
सार्वजनिक विवरणअनुसार गत आवको पहिलो ८ महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.१२ प्रतिशत रहेकामा यस्तो हिस्सा २.४५ प्रतिशतले घटेर चालू आवमा ८९.८६ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २८.६९ प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.८८ प्रतिशत रहेकामा चालू आवमा १०.१४ प्रतिशत पुगेको छ ।
चालू आवको ८ महिनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै छ । यस आवको फागुन महिनासम्म मुलुकमा ८७ अर्ब ८३ करोड रुपैयाँ मूल्यभन्दा धेरैको डिजेल भित्रिएको छ । त्यस्तै एलपी ग्यास ४० अर्ब ६४ करोड रुपैयाँ बराबरको तथा पेट्रोल ३९ अर्ब ८५ करोड रुपैयाँ बढीको भित्रिएको विभागले जनाएको छ ।
नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्यांकअनुसार स्वदेशबाट ४१ अर्ब ४० करोड मूल्यभन्दा बढीको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान देखिन्छ । जसले मुलुकको वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाएको छ ।
निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेल जस्तै पाम तेल पनि कच्चा पदार्थ आयात गरी प्रसोधनपश्चात निर्यात हुने गरेको छ । सार्वजनिक विवरणअनुसार चालु आवको पहिलो ८ महिनासम्म ३५ अर्ब ३३ करोड रुपैयाँ मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।
९ अर्ब ४९ करोड बराबरको गलैचा तथा टेक्सटायल, ५ अर्ब ८९ करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
भारतबाट मात्रै झन्डै ८ खर्ब बढीको आयात
सार्वजनिक तथ्यांकअनुसार चालू आवको फागुनसम्म नेपालले भारतबाट करिब ७ खर्ब ९७ अर्ब मूल्य बराबरका वस्तु आयात भएको देखिन्छ भने १ खर्ब १८ अर्ब मूल्य बरोबरका वस्तु निर्यात भएको छ । जसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै ६ खर्ब ७८ अर्बभन्दा धेरै छ । त्यस्तै नेपालले चीनबाट १ खर्ब ८६ अर्ब मूल्य बराबरका वस्तु आयात गरेकामा ५४ करोड ५८ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।
विभागको विवरणअनुसार चालू आवको ८ महिनामा सबैभन्दा धेरै वीरगञ्ज नाकाबाट ४ खर्ब ६३ अर्ब बढी मूल्य बराबरको वस्तु आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट २ खर्ब ६ अर्ब र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट १ खर्ब ५७ अर्ब बढी मूल्य बराबरका वस्तु आयात भएको तथ्यांक छ ।
नेपालले वीरगञ्ज भन्सारबाट ६६ अर्ब ३६ करोड, विराटनगर भन्सारबाट ४१ अर्ब ७७ करोड तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट २१ अर्ब २७ करोड बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




