राष्ट्र बैंकले पुर्‍यायो पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत

-



     सफल आवाज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ चैत । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुर्‍याएको छ । यसअघिको सहुलियतपूर्ण पुनरकर्जाको ब्याजदरको सीमालाई २ प्रतिशत बढाउँदै बैंकले ७ प्रतिशत पुर्‍याएको हो ।

मंगलबार राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि २०७७ को चौथो पटक संशोधन गर्दै ब्याजदर वृद्धि गरिएको हो । संशोधित ब्याजदरअनुसार अब सर्वसाधारण ऋणीले सहुलियतपूर्ण कर्जाको अधिकतम ७ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ ।

यसअघि यस्तो ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको थियो । जसअनुसार लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र साधारण पुनर्कर्जामा ऋणीहरुले बैंकहरुलाई अधिकतम ७ प्रतिशत ब्याजदर तिर्नुपर्ने छ भने सो कर्जामा बैंकहरुले राष्ट्र बैंकलाई ४ प्रतिशत तिर्नुपर्छ । अर्थात् यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकसँग ४ प्रतिशतमा लिएर सेवाग्राही ऋणीहरुलाई अधिकतम ७ प्रतिशतमा लगानी गर्न सक्नेछन् ।

विशेष पुनर्कर्जामा भने बैंकहरुले २ प्रतिशतमा लिएर अधिकतम ५ प्रतिशतसम्ममा मात्र लगानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । कोभिड–१९ को महामारीबाट प्रभावित निजी व्यवसायिक, उद्योग, कलकारखानासँगै विशेष प्रभावित होटल पर्यटन तथा ट्रेकिङ क्षेत्रको उत्थानका लागि विशेष पुनरकर्जाको व्यवस्था गरिएको थियो ।