संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध मुद्दामा सुनुवाइ हुँदै

-



     सफल आवाज    
     चैत्र ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ चैत । संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

सर्वोच्च अदालतले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि समेत सुनुवाइ गर्नेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्Þका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

गत शुक्रबार संवैधानिक इजलासबाट आजका लागि पेशी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई १/१ घण्टा समय दिएको छ । अपुग भए दुवै पक्षले थप आधा/आधा घण्टा समय थप पाउनेछन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै रिट निवेदन दर्ता भएको थियो ।

तर १७ भदौ २०७८ मा न्यायाधीश हरि फुयाँलले एकल इजलासबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएका थिए ।