आइपीओ निष्काशन गर्न सीवाइसी नेपाल र रिभर फल्सले पायो अनुमति

-



     सफल आवाज    
     चैत्र १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० चैत । आइपीओ निष्काशन गर्न २ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डले सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयर र रिभर फल्स पावरले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

हाल लघुवित्तको चुक्ता पुँजी ८ करोड ८१ लाख ८ हजार २०० रुपैयाँ रहेको छ । लघुवित्तले जारी पुँजीको ३२‍‍.५० प्रतिशत सेयर निष्काशनपश्चात चुक्ता पुँजी १२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।

रिभर फल्स पावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ७० लाख रुपैयाँ रहेको छ । ३४ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ पुग्नेछ ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।