एकीकृत सहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

-



     सफल आवाज    
     चैत्र १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० चैत । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छन् । उनले एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउँदै यस कार्यक्रमको लागि थप बजेट आवश्यक रहेको बताएकी हुन् ।

बिहीबार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरतासम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको बताइन् । उनले भनिन्, एकीकृत सहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत् यस वर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं ।’

उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रमको बारे ल्याउने विषयमा गृहकार्य गरिरहेको बताइन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले सहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने बताइन् ।

मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले सहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताल लगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको बताए । उनले भने, मन्त्रालयले सहरीकरणमा थुप्रै राम्रा काम गरिरहेको छ । अब हाम्रा सहरहरुको सौन्दर्य बढाउन पनि पहल गर्नुपर्छ ।’ कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताए ।