३ क्यासिनोलाई साढे ९० करोड बक्यौता बुझाउन ५ दिने अल्टिमेटम

-



     सफल आवाज    
     चैत्र ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ चैत । सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने ३ क्यासिनो कम्पनीलाई पर्यटन विभागले ५ दिने अल्टिमेटम दिएको छ । विभागले ५ दिनभित्र ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउनका लागि अल्टिमेटम दिन बुधबार मन्त्रिस्तरीय निर्णय गराएसँगै ३ क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए । जोशीले भने, ‘मन्त्रीज्यूले मन्त्रिस्तरीय निर्णय गरी बक्यौता बुझाउनका लागि अल्टिमेटम दिन निर्णय गर्नुभएको छ, हामीले रकम बुझाउन ५ दिनको सूचना प्रकाशन गरेका छौं, नबुझाए कारबाही हुन्छ ।’

विभागले सार्वजनिक गरेको सूचनामा रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख रुपैयाँ, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख रुपैयाँ र ओरियन्टल होटल्स (र्‍याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड रुपैयाँ बक्यौता रहेको जनाएको छ ।

ती कम्पनीले ५ दिन भित्रमा बक्यौता रकम नबुझाए कानुनी कारबाही हुने विभागले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । हालसम्म १७ कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा ८७ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।