यूनियन लाइफको जीवन उत्थान बिमा योजना सार्वजनिक

-



     सफल आवाज    
     चैत्र ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ चैत । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक ३ वर्षमा अग्रीम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको जीवन उत्थान बिमा योजना सार्वजनिक गरेको छ । बिमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बिमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको जीवन बिमा उत्थान बिमा योजना न्यून आय भएका व्यक्तिहरुदेखि अधिक आय भएका व्यक्तिहरुले खरिद गर्न सक्ने देखिएको छ । न्यूनतम ५० हजारदेखि आयस्रोतको आधारमा चाहेअनुसार बिमांक रकमको बिमा गर्न सक्ने व्यवस्था रहेकोले उक्त बिमा योजनामा सबैको पहुँच हुने देखिएको छ । साथै न्युनतम ९ वर्षदेखि अधिकतम १८ वर्षसम्मको अवधि कायम गरी १६ वर्षदेखि ५० वर्षका व्यक्तिहरुले बिमा गर्न सक्ने कम्पनीले जनाएको छ ।

बिमा गर्ने व्यक्ति बिमा अवधिसम्म जिवित रहेमा अग्रीम भुक्तानी गरी बाँकी हुन आएको बिमांक रकम र बोनस उपलब्ध हुनेछ भने बिमा अवधिभित्र कालगतीले मृत्यु भएमा समेत बिमांक रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ । कुनै कारणले बिमितको दुर्घटनाबाट मृत्यु भएमा बिमांक बराबरको थप रकम र बोनस रकमसमेत उपलब्ध हुनेछ ।

उक्त योजनामा दुर्घटना लाभ वापतको अधिकतम रकम १ करोडसम्म हुने व्यवस्था रहेको छ । प्रत्येक ३ वर्ष पूरा भएको बिमालेखको वार्षिकोत्सव मितिमा अग्रीम भुक्तानी वापतको रकम प्रदान गरिने र बिमा अवधि समाप्तिमा बिमितले प्राप्त गरेको अग्रीम भुक्तानी रकमपश्चात् बाँकी हुन आउने बिमांक रकम र बोनससमेत प्रदान गरिने व्यवस्था रहेको छ । यस बिमा योजनामा दुर्घटना मृत्यु लाभ, बिमा शुल्क छुट, मासिक आय, घातक रोगसम्बन्धी थप सुविधाहरु लिन सक्ने व्यवस्था रहेको छ । साथै बिमालेख लिएको मितिले ३ वर्ष पूरा भएपश्चात् समर्पण मूल्य, चुक्ता मूल्य तथा कर्जा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णका अनुसार प्रत्येक ३ वर्षपछि अग्रीम भुक्तानी हुने र सबै वर्गका मानिसहरुको पहुँचमा पु¥याउने उद्देश्यले ल्याइएको बिमा उक्त योजना बिमा गर्नेहरुको हितमा रहेको छ ।