आगामी आवको बजेट कृषिमैत्री आउने अर्थसचिवको प्रतिवद्धता

-



     सफल आवाज    
     चैत्र ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ चैत । अर्थसचिव मधुकुमार मरासिनीले सरकारको आगामी आर्थिक वर्षको बजेट कृषिमैत्री आउने प्रतिवद्धता जनाएका छन् । चितवनको भरतपुरमा जारी नेपाल र एसियाकै पहिलो कृषि कर्जा मेलामा उनले साे कुरा बताएका हुन् ।

‘अर्थ मन्त्रालय बजेट तयारीमा जुटेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको पहिलो छलफल कृषि क्षेत्रबाट सुरु गरेको छ, आगामी बजेटको पहिलो प्राथमिकता कृषि हुनेछ ।’ उनले भने, ‘कृषिप्रधान देश ६१ प्रतिशत कृषक रहेको भन्ने र वर्षमा अर्बौको कृषिजन्य वस्तु आयात हुने र युवाहरु रोजगारी नपाएको भन्दै विदेश जाने, योभन्दा दुर्भाग्य के होला ?’

उनले सरकार कृषिको लागि अनुकुल वातावरण बनाउन तयार रहेको बताए । ‘सरकार अनुकुल वातावरण तयार गर्ने निकाय हो, निजी क्षेत्र, बैंक, कृषकले काम गर्ने हो,’ उनले भने, ‘अनुकुल नीति बनाउन अर्थ मन्त्रालय प्रतिवद्ध छ । अगामी बजेट कृषिमैत्री आउँछ ।’

कृषिको मूल्य श्रृंखला जोडेर हाम्रो उत्पादनले उच्च मूल्य पाउने अवस्था रहँदा पनि कृषि क्षेत्रमा पछाडि गरेको उनले बताए । ‘हामीले अन्यत्रको बजार नभए पनि मध्यपूर्वको बजार क्याप्चर गर्न सक्छौं,’ उनले भने, ‘कृषिको लागि केही कानुनी सुधार गर्नुपर्ने भए त्यसको लागि सरकार तयार छ ।’ उनले किसानमा वित्तीय साक्षताको कमी समस्याको रुपमा औंल्याए । ‘किसानले सहुलियत कर्जाको बारेमा जनकारी नपाएर बञ्चित भएको अवस्था छ, राज्यको नीति वित्तीय साक्षरताको कमीले गर्दा किसानसँग पुग्न सकेको छैन,’ उनले भने ।

पूर्वमन्त्री गणेश शाहले वाटर, इनर्जी र फुडको कनेक्सन जोड्ने अपरिहार्य रहेको बताए । ‘किसानलाई उत्पादन गर्न मात्रै नभई बिक्री गर्न पनि सिकाउनुपर्छ, उत्पादक र उपभोक्तालाई कसरी जोड्न सकिन्छ त्यसमा ध्यान दिउ,’ उनले भने, ‘किसानको लागि कर्जा त छँदै छ कसरी शिक्षा दिने त्यसमा ध्यान पनि दिउँ ।’

३ दिनसम्म चलेको मेला र त्यसमा भएको बहसको समिक्षा गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले किसानमा वित्तीय साक्षरताको कमी बैंकले पनि किसानलाई बुझाउन नसकेको देखिएको बताए । ‘सबैले सम्भावनाको पहिचान गरौं, पहिचान भएका सम्भावनालाई मात्रै कार्यन्वयन गरौं ।’ उनले भने, ‘पहिचन भएका सम्भावनालाई कार्यन्वयनमा लैजान सक्छौ भनेर आफू पनि विश्वस्त हुनुपर्छ र स्टेकहोल्डरलाई पनि आश्वस्त पारौं ।’

कृषि कर्जा मेलामा शुक्रबार साना किसानको वित्तीय पहुँचमा विकास साझेदारको भूमिकासम्बन्धी सम्वाद भएको थियो । सम्वादमा इजराइलको लागि पूर्व राजदुत डा. अन्जान शाक्यले निजी क्षेत्रले पनि कृषिमा लगानी गर्नुपर्नेमा जोड दिइन् ।

‘किसानलाई निजी क्षेत्रले स्टेक होल्डर बनाएर अगाडि बढाउनुपर्छ,’ उनले भनिन्, ‘किसानलाई उद्यमीको रुपमा अगाडि बढाउन सके कृषिको विकास हुनसक्छ ।’ उनले ‘ट्रेडिसनल’ हैन ‘मोर्डन एग्रिकल्चर’ इजरायलले गरेर देखिएको भन्दै नेपालमा पनि इजराइलबारे सिकेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् । ‘विश्वमा इजरायल ‘मोर्डन एग्रिकल्चरको रोलमोडल’ बनिसकेको छ,’ उनले भनिन्, ‘इजरायलले पुष्प, च्याउ, स्ट्रोवेरीमा एग्रो टुरिजमको लागि प्रयोग गरेको छ । जुन हामीले पनि गर्न सक्छौं ।’

कृषि क्षेत्र विकास भए सबै औद्योगिक विकास हुनसक्ने भन्दै राजनीतिज्ञले पनि सपना देखाउने मात्रै नभई त्यसलाई पूरा पनि गर्नुपर्ने उनले बताइन् । उनले इजाइलले आधुनिक कृषिमा गरेको प्रयोगहरुको प्रस्तुतिकरण गर्दै नेपालमा पनि त्यसको लागि रिसर्चलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।