नेपाल लाइफ इन्स्योरेन्सको ‘नेपाल लाइफ पाठशाला’ शुभारम्भ

-



     सफल आवाज    
     चैत्र ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सीटी सेन्टर)मा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले संयुक्त रुपमा उक्त उद्घाटन गरे ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रममा उनले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरुलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताए । उनले नेपाल लाइफ पाठशाला भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्ने बताए ।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बिमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरे । समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यवसायिक दक्षता एवं क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधा सम्पन्न ‘नेपाल लाइफ पाठशाला’ को स्थापना गरिएको बताए । आगामी दिनहरुमा यस पाठशालामा विज्ञ प्रशिक्षकहरुमार्फत् अभिकर्ता र कर्मचारीहरुको लागि नियमित तालिम एवं सेमिनारहरु सञ्चालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिए ।

कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका सञ्चालकहरु रामअवतार अग्रवाल र बिमलप्रसाद ढकाल, कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी, विभागीय प्रमुखहरु र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।