जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन बढ्यो, नेपाल लाइफ पहिलो नम्बरमा

-



     सफल आवाज    
     चैत्र २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ चैत । चालु आर्थिक वर्षको ८ महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमा शुल्क बापत ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन् । बीमा समितिले दिएको जानकारी अनुसार यी कम्पनीहरुले फागुन महिनासम्म २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बीमा शुल्कवापत आर्जन गरेका हुन् । यस अवधिमा कम्पनीहरुले नवीकरण बीमा शुल्क वापत ६६ अर्ब २८ करोड ९६ लाख ६५ हजार रुपैयाँ आर्जन गरेका छन् ।

सबैभन्दा धेरै नेपाल लाइफले मात्रै २३ अर्ब ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवको दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको ११ अर्ब ११ करोड रुपैया रहेको छ । नेपाल लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा लाइफ इन्योरेन्स कर्पोरेसनको एक अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

समितिका तथ्यांकशास्त्री बस्नत बोहराका अनुसार फागुनमहिनामा मात्रै कम्पनीहरुले प्रथम बीमा शुल्क बापत २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ र नवीकरण बीमा शुल्कबाट ८ अर्ब १ करोड ९८ लाख ८४ हजार रुपैयाँ गरी १० अर्ब ९० करोड १५ लाख रुपैयाँ आम्दानी गरेका छन् । एक महिनामा जीवन बीमा कम्पनीहरुले ११ लाख ३७ हजार ७४९ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले एक वर्षमा ३८ दशमलव ३७ प्रतिशतले जीवन बीमालेख वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ९२ लाख ३९ हजार ८२४ वटा बीमालेख बिक्री गरेका हुन् । अघिल्लो वर्षको फागुन मसान्तसम्म कम्पनीहरुले ७४ लाख ६४ हजार १५१ वटामात्रै बीमालेख बिक्री गरेका थिए ।