नेप्सेमा छायो हरियाली, परिसूचकसंगै कारोबार रकममा बृद्धि

-



     सफल आवाज    
     चैत्र २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ चैत । निरन्तर ओरालो लाग्दै आएकाे सेयर बजारमा आजकाे सुखद् यात्राले भने लगानीकर्ताकाे मनाेवल बढाएकाे छ । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार सेयर बजारको स्वरुप हरियाली देखिएको छ ।

नेप्सेमा आज छाएको हरियालीले लगानीकर्ताहरुलाई मख्ख त बनाएको छ । तर यसको सकारात्मक लयमा क्रमभंग हुने संभावना पनि जीवितै रहेको छ । सम्पूर्ण सूचकहहरुमा हरियाली छाउँदा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.६६ अंकले बृद्धि भई २४६४.३१ विन्दुमा उक्लिएको छ । नेप्से १.४७ प्रतिशतले बढेको छ । सेन्सेटिभ इण्डेक्स ८.१३ अंकले बढेर ४६३.७३ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२४ कम्पनीको सेयर कारोबार भएको छ । ५४ लाख ४४ हजार ७३८ कित्ता सेयरको किनबेचबाट २ अर्ब १२ करोड १५ लाख ११ हजार २८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै १३ वटै उपसमूहरुमा हरियाली छाएको छ । बैंकिङ उपसमूहको १८.२३ अंकले बृद्धि भएको छ । व्यापारतर्फ ५९.३२ अंकले, होटल तथा पर्यटनतर्फ ३५.४८ अंकले, विकास बैंकतर्फ ७०.७८ अंकले बृद्धि भएको छ ।

हाईड्रोपावरतर्फ ३० अंकले, फाइनान्सतर्फ २५.५२ अंकले, नीर्जिवन बीमातर्फ १०९.१३ अंकले बृद्धि भएको छ । यस्तै उत्पादनतर्फ ४७.८२ अंकले, अन्यतर्फ ६८.३३ अंकले, माइक्रोफाइनान्सतर्फ ६३.७७ अंकले, जीवन बीमातर्फ २५८.५६ अंकले बृद्धि भएको छ । म्यूचुअल फण्डतर्फ ०.११ अंकले र लगानी उपसमूहतर्फ ०.९२ अंकले बृद्धि भएको छ ।

केहि दिन अघिसम्म लगातार बढी गुमाउँदै आएका दुई बीमा समूहमध्ये जीवन बीमाको बढी बढेको छ भने दोश्रोमा नीर्जिवन बीमा रहेको छ । तेश्रोमा विकास बैंक तथा चौथोमा अन्य समूहतर्फ बढेको छ । पाँचौमा फाइक्रो फाइनान्सको बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ७ करोड ३८ लाख ९५ हजार २१८ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।