महानगरले ‘विज्ञापन कर’ बारे स्वेत आतंक बन्द नगरे कठोर कदम चाल्ने पाेखरा पर्यटन परिषदको चेतावनी

-



     सफल आवाज    
     चैत्र २७ गते २०७८ मा प्रकाशित



पाेखरा, २७ चैत । पोखरा पर्यटन परिषदले पोखरा महानगरपालिकाले ‘विज्ञापन कर’ को नाममा पर्यटन व्यवसायीहरुमाथि मच्चाएको स्वेत आतंक बन्द नगरे कठोर कदम चाल्ने चेतावनी दिएको छ ।

अध्यक्ष गोपी बहादुर भट्टराईद्वारा जारी बिज्ञप्तीमा महानगरले स्वेत आतंक सिर्जना गरेकोले परिषदको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । परिषदको बैठकपछि जारि विज्ञप्तीमा लेखिएको छ, महानगरको स्वेत आतंक प्रति निजि तथा पर्यटन क्षेत्रका १२ वटा संघ संस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदले सो कदम बन्द नगरे कठोर कदम चाल्न बाध्य हुनेछ ।

आर्थिक बर्ष २०७८/०७९ को लागि पोखरा नगर क्षेत्रको विज्ञापन कर उठाउने अख्तियारी आफूले प्राप्त गरेको जानकारीसहित साइन हव प्रा.लि ले केही दिनयता व्यवसायीहरुको व्यावसायीक प्रतिष्ठानहरुमा पुगी अनावश्यक दवाव र मानसिक यातना दिदैँ आएको छ । पोखरा महानगरपालिका, संघिय सरकारले तोकेको राजश्वहरु संकलन गर्न स्वतन्त्र छ । तर व्यवसायीहरुकाे आफ्नो व्यवसायको चिनारीको रुपमा राखिएका बोर्डहरुको शुल्क अशुल्न खोज्नु कहि कतैबाट जायज छैन ।

बिज्ञप्तीमा अगाडी लेखिएको छ, व्यवसायीहरुले आफ्नो व्यवसाय चिनारीको लागि राखिएका बोर्डहरु विज्ञापन नरहेको समेत जानकारी गराउँदछौ‌ । नेपाल सरकारको आधिकारीक निकायमा दर्ता भई दर्ता शुल्क, आयकर, व्यवसाय कर सहितका सबै कर तथा मूल्य अभिवृद्धि कर संकलन गर्दै राज्यलाई भुक्तान गर्दै आएका व्यवसायीहरुको सार्वभौम अधिकार हो । कानुनले दोहोरो कर बर्जित गरेको छ ।

व्यवसायीले व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको लागि राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्ने कानुनको उल्घंन नभएर व्यवसायीहरुको सार्वभौम अधिकारमाथिको आक्रमण एवं स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संबैधानिक अधिकारमाथिको पनि धावा हो ।

परिषदले महानगरको सो कदमलाई गैर जिम्मेबार अराजक तथा स्वेच्छाचारी प्रवृति भएको बताएको छ । भएका व्यवसायहरुलाई संरक्षण गर्नुपर्ने दायित्व भुलेर राज्यबाटै व्यवासयीमाथि विज्ञापन करको नाममा लगाइएको यो कर कुनै पनि सर्तमा नतिर्ने निजि तथा पर्यटन क्षेत्रका संघ संस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषद दृढ रहेको जनाईएको छ ।

महानगरपालिकाले यसअघि यस्तै अव्यवहारीक र नाजायज रुपले कर उठाउन खोज्दा पोखरा पर्यटन परिषदले प्रतिकार गरेको स्मरण गराउँदै तत्काल विज्ञापन करको नाममा मच्चाइएको स्वेत आतंक बन्द गर्न जोड दार माग गरेको छ । अन्यथा निजि क्षेत्रका पर्यटनसंग सम्बन्धीत १२ वटा संस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषद कठोर कदम चाल्न बाध्य हुने बिज्ञप्तीमार्फत चेतावनी दिईएको छ ।