
काठमाडौं, ३० चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पु¥याउन राजदूत पार्कसँग आग्रह गरेका थिए । राजदूत पार्कले इपिएससम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताए। सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र तत्पश्चात् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको छ ।
मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जाने प्रक्रियामा रहेकाले उनीहरूलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरे। रोजगार अनुमति प्रणालीअन्तर्गत नेपालले पाउने कोटा बढाउन पनि उनले आग्रह गरे। दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली कामदार लैजाँदै आएको छ । इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरू रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्दछन् ।
इपिएसअन्तर्गत नेपाली कामदारको सङ्ख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताए। सन् २०१८ मा इपिएसअन्तर्गत भाषा परीक्षा पास गरेका दुई हजार नेपाली रोष्टरमा रहने म्याद सकिएकाले प्रक्रियामा सहभागी हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रक्रियामा सहभागी गराउन आग्रह गरे। मन्त्री श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरूका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताए।
रोजगार अनुमति प्रणालीअन्तर्गत नेपाली नागरिक ठूलो सङ्ख्यामा दक्षिण कोरिया जाने गरेकाले नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगमलाई पनि कोरियामा सूचीकृत गर्न, कोभिड महामारीका कारण सीधा उडान मात्र हुने गरेकाले ट्रान्जिट हुँदैसमेत जाने व्यवस्था गर्न पनि उनले आग्रह गरे। जसबाट हवाई भाडा सस्तो पर्ने मन्त्री श्रेष्ठको भनाइ छ । नेपाल वायुसेवा निगमले पनि काठमाडौँ–कोरिया उडानको प्रयत्न गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।
सो अवसरमा मन्त्री श्रेष्ठले दक्षिण कोरियामा प्राप्त हुन सक्ने मौसमी कामदारको अवसरबारे पनि राजदूतसँग चासो राखे । मन्त्री श्रेष्ठले अहिले वैदेशिक रोजगार व्यवस्थापनको कार्यक्षेत्र सङ्घीय सरकारमा मात्र निहित रहेकाले मौसमी कामदारको रूपमा रोजगारी दिन स्थानीय सरकारलाई जिम्मेवार बनाउन खोजिएको विषयमा नीतिगत स्पष्टता कायम गर्दै अघि बढ्न नेपाल सरकार तयार रहेको बताए।
मन्त्री श्रेष्ठले नेपाल सरकारको नीतिअनुसार मौसमी कामदारको रुपमा जाने व्यक्तिहरू ‘एम्प्लोई पे पोलिसी’ अवलम्बन हुने गरी दक्षिण कोरिया जाऊन् भन्ने अपेक्षा गरिएको बताए। दक्षिण कोरिया सरकारको सहयोगमा बुटललमा सञ्चालित सीप तालिम केन्द्रबाट धेरै नेपाली युवा लाभान्वित भएको बताउदै मन्त्री श्रेष्ठले अन्य प्रदेशमा पनि सीप विकास तालिम सञ्चालन गर्ने मन्त्रालयको योजनामा सहयोग गर्न आग्रह गरे ।
रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया गई फर्केर आउने नेपाली नागरिकलाई पुनःएकीकरणका लागि सहयोग गर्ने दक्षिण कोरिया सरकारको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए। पुनःएकीकरणका लागि दक्षिण कोरिया सरकारले ८० लाख डलर सहयोगको प्रस्ताव गरेको छ । कोरियामा ६५ हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । नेपालीहरू मेहनती र इमान्दार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको राजदूत पार्कले बताए।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




