३.५६ अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब पनि नाघेन

-



     सफल आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार सेयर बजार सकारात्मक लयमा गएको देखिएको छ । नेप्से सामान्य ढंगले उकालो लागे पनि कारोबार रकम भने सन्तोषजनक भएन । कारोबार रकमले २ अर्बको संकेत दिन सकेन ।

उसो त नेप्से, बजार बन्द हुनुभन्दा केहिबेर अगाडीसम्म दोहोरो अंकले ओरालो लागेको थियो । नेप्सेमा भईरहने यसप्रकारको बदलिबदलिले लगानीकर्ताको मनोवल अझैं बढ्न सकेको छैन ।

नेपाली सेयर बजार राजनीतिक घटनाक्रम, विपदको समय, नियामक निकायको नेतृत्वमा हुने रिक्तता, राष्ट्र बैंकले अवलम्बन गर्ने नीति तथा लगानीकर्ताको कायम रहिरहेको असन्तुष्टिको कारणले, अर्थ तथा बैंक नेतृत्वबीचको टसलले प्रभावित बन्दै आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.५६ अंकले बढेर २३७४.५५ विन्दुमा चढेको छ । नेप्से ०.१५ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.७७ अंकले बढेर ४५३.७२ विन्दुमा पुगेको छ ।

कुल २२८ कम्पनीको सेयर कारोबार भएको छ । २८ लाख ८५ हजार ३९ कित्ता सेयरको कारोबारबाट १ अर्ब ८९ करोड ९ लाख ९२ हजार ३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटा उपसमूहमध्ये ८ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ५ वटा राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढि अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ५ करोड २१ लाख १३ हजार ३३२ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।