अपि पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ वैशाख । अपि पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिनका लागि आज अन्तिम दिन बाँकी रहेको छ । कम्पनीले चैत २५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याएको थियो । हाल कायम रहेको १ कित्ता बराबर नयाँ ०.३९३६ कित्ता सेयरको अनुपातमा सेयर निष्काशन गरिएको थियो ।

कम्पनीले रुपैयाँ १०० मूल्य अंकित दरमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

हकप्रद सेयरमा लगानी गर्नका लागि चैत १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी कायम भएको हुनुपर्नेछ । सो मितिसम्म कायम सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् ।

कम्पनीले हकप्रद सेयर निष्काशनको प्रयोजनका लागि चैत १४ गते बुक क्लोज गरेको थियो ।

सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिनमा लागि मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यस्तै ग्लोबल आइएमई बैंक, गोकुलेश्वर दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीयामा रहेका शाखा कार्यालयबाट आवेदन दिन पाउने छन् । साथै सिआस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र मेरोशेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा रहेको छ । हकप्रद सेयरको बिक्रीपछि चुक्तापूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्ने भएको छ ।

हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।