
काठमाडौं, २४ वैशाख । सामाजिक सुरक्षा कोषले गत जेठ र असार महिनाको योगदानवापतको रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ । रोजगारदाताका तर्फबाट जम्मा गर्नुपर्ने २० प्रतिशत र योगदानकर्ताका तर्फबाट जम्मा गर्नुपर्ने ११ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा गरिएको हो । करिब एक लाख ३० हजार योगदानकर्ताको खातामा रकम जम्मा गरिएको कोषले जनाएको छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत कोषमा योगदान गर्ने योगदानकर्ताको जेठ र असार महिनाको योगदानवापतको रकम सरकारका तर्फबाट जम्मा गर्ने घोषणा गरिएको थियो । कोरोना महामारीका कारण रोजगारदाता र श्रमिक प्रभावित भएको भन्दै दुई महिनाको योगदान रकम सरकारले नै व्यहोर्ने निर्णय गरेको थियो । सरकारबाट प्राप्त रु एक अर्ब छ करोड सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गरिएको छ ।
कोषले बजेटमा उल्लेख गरेअनुसार योगदानकर्ताको खातामा जम्मा गर्न रु एक अर्ब ३२ करोड माग गरेको थियो । हाल जम्मा हुनुपर्ने योगदान रकमको ८४ प्रतिशत जम्मा गरिएको र बाँकी १६ प्रतिशत निकासा प्राप्त भएपछि जम्मा गरिने कोषले जनाएको छ । अपुग रकम छिट्टै निकासा गरिने अर्थ मन्त्रालयबाट जानकारी आएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । पछिल्लो छ महिनामध्ये न्यूनतम रकम जम्मा भएका आधारमा योगदानकर्ताको खातामा रकम जम्मा गरिएको हो ।
यसअघि पनि सरकारले चार महिनाको योगदानवापतको रकम योगदानकर्ताको खातामा जम्मा गरिदिएको थियो । पछिल्लो दुई वर्षको अवधिमा सरकारले दुईपटक गरेर छ महिनाको योगदान रकम योगदानकर्ताको खातामा दाखिला गरिदिएको छ । कोषमा हालसम्म १७ हजार ७४ रोजगारदाता र तीन लाख ३२ हजार ९५ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा रु १६ अर्ब ३४ करोड योगदान सङ्कलन भएको छ ।
कोषले विभिन्न सुविधा योजनाअन्तर्गत रु एक अर्ब १५ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ । जसअन्तर्गत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधावापत रु १६ करोड ७७ लाख, दुर्घटना तथा अशक्तता सुरक्षावापत रु एक करोड ५६ लाख, आश्रित परिवार सुरक्षावापत रु दुई करोड ७५ लाख र अवकाश दाबीवापत रु ९४ करोड ५६ लाख दाबी भुक्तानी गरिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




