जेठको पहिलो कारोबार भएकै दिन नेप्सेमा ८४.९० अंकको गिरावट

-



     सफल आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ जेठ । अन्तिम कारोबार भएको दिन वैशाख २९ गते ओरालो लागेको सेयर बजारको यात्राले साताको सेयर कारोबार भएकाे पहिलाे दिन आज पनि ओरालोतिर नै गएको छ ।

सेयर बजार राताम्मै हुँदा लगानीकर्ताको मनोवल घटाएको छ । काराेबार रकममा पनि कमि भएकाे छ । यहिबीचमा स्थानिय तहको निर्वाचन भएको र निर्वाचनको माहौलसंगै बजारमा सकारात्मक रौनक छाउला भन्ने अपेक्षा भने पूरा हुन सकेन ।

नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ । नेप्सेमा ३.६१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १४.२७ अंकले घटेर ४३९.६९ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२१ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ३५ लाख ९५ हजार ५६८ कित्ता सेयरको कारोबारबाट १ अर्ब ६४ करोड ४० लाख ५० हजार २३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरु रातै भएका छन् । सबैको सेयर घटेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको ५९२.५९ अंकले घटेको छ । नीर्जिवन बीमातर्फ ४८५.८१ अंकले, विकास बैंकतर्फ १६३.६९ अंकले, माइक्रोफाइनान्सतर्फ १४३.२८ अंकले र हाईड्रोपावरतर्फ १४२.५ अंकले गिरावट भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी जाल्पा लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ । संस्थाको ९ करोड ७९ लाख ९ हजार ५१३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।