२८ पटकसम्म कागजात सच्याएर राजश्व छली, विभिन्न फर्मका सञ्चालकविरुद्ध १९ करोड ६९ लाख रुपैयाँको मुद्दा

-



     सफल आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० जेठ । पछिल्लो समय राजश्व छल्नेविरुद्धको कारबाहीलाई सरकारले तीव्र बनाएको छ । राजश्व छल्नेविरुद्धको कारबाहीलाई राजश्व अनुसन्धान विभागले तीव्रता दिएसँगै राजश्व छलीको श्रृंखला धमाधम बाहिरिन थालेको छ ।

सोमबार मात्र राजश्व अनुसन्धान विभागले राजश्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिवानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले विभिन्न गलत उपाय अपनाएर राजश्व छलीमा संलग्न भएका राजकिशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह, भविचन महत्तो कोइरी, श्रीराम ठाकुर र जटाशंकर जैसवालविरुद्ध बिगोसहित अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले उच्च अदालत पाटनमा दायर गरेको सो मुद्दामा निरज ट्रेडर्स एन्ड सप्लायर्स र राज ट्रेडर्स कम्पनीमार्फत राजश्व छली गरेको पाइएको हो ।

उनीहरूले भारतीय चिनी अवैध रूपमा चोरी पैठारी गरी मालवस्तु तथा ढुवानी गर्दा सक्कल कागजातमा रहेका विवरण २८ पटकसम्म सच्याई राजश्व छलेको विभागको दावी छ ।

अनुसन्धानका क्रममा उनीहरूले मालवस्तु तथा ढुवानीका साधन अनगुमन प्रणालीमा एकपटक प्रविष्ट भएको सक्कल कागजातमा रहेका विवरण २८ पटकसम्म सच्याई मालवस्तु ढुवानी गरी काठमाडौं ल्याई बिक्रीवितरण गरेको पाइएको विभागले जनाएको छ ।

यसैगरी नेपाल सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर छली गरेको देखिएको विभागले उल्लेख गरेको छ ।

विभागले यस्तो कार्यमा पर्सा जिल्ला घर भई भरतपुर चितवनमा व्यवसाय गर्दै आएका निरज ट्रेडर्स एन्ड सप्लायर्सका प्रोपाइटर श्रीराम ठाकुर र सोही सप्लायर्सका सञ्चालक जटाशंकर जैसवाल रहेको बताएको छ ।

उनीहरूले कर छली गर्ने उद्देश्यले जालसाजीयुक्त नक्कली तथा झुटो मूल्यअभिवृद्धि कर बिजक खरिद गरी ऐन तथा नियमानुसार तिर्नुपर्ने कर नतिरी राजश्वट चुहावट गरेको विभागको दाबी छ ।

राजश्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२को प्रथम संशोधनसहितको कानुनबमोजिम उनीहरू विरुद्ध त्यसबापत हुन आउने मूअकरतर्फ २ करोड ४१ लाख ३५ हजार ९ सय ४१ र आयकरतर्फ ५ करोड ५७ लाख १६ हजार ६ सय १२ सहित कुल बिगो हुन आउने ७ करोड ९८ लाख ५२ हजार ५ सय ५३ को शतप्रतिशत जरिमाना गरी १५ करोड ९७ लाख ५ हजार १ सय ६ रुपैयाँबराबरको मागदाबी गरिएको विभागले जनाएको छ ।

यसैगरी, महोत्तरीको गौशाला नगरपालिका–१ स्थायी घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने राज ट्रेडर्स नामक फर्मका प्रोप्राइटर राजकिशोर सिंह कुशवहा, सोही ठाउँका पुष्करकुमार सिंह र महोत्तरीको गौशाला नगरपालिका–१० स्थायी घर भएका भविचन महत्तो कोइरीले भारितीय चिनी अवैध रूपमा चोरीपैठारी गरी राजश्व छलेको अभियोगमा छलिएको राजश्व र त्यसको शतप्रतिशत जरिमानासहित ३ करोड ७२ लाख ५८ हजार ६२ रुपैयाँ असुलको मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

२८ पटकसम्म कागजात सच्याई भारतीय चिनी चोरीपैठारी गर्ने राज ट्रेडर्सका तीनै जनाविरुद्ध विभागले राजश्व चुहावटसम्बन्धी ऐनअनुसार कायम बिगो १ करोड ८६ लाख २९ हजार ३१ रुपैयाँको शतप्रतिशत जरिमानासहित ३ करोड ७२ लाख ५८ हजार ६२ रुपैयाँको बिगो मागदाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।