सेयरबजार लगातार ओरालो लाग्दै, एनआईसी एशिया बैंककाे कारोबार अब्बल

-



     सफल आवाज    
     जेठ १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ जेठ । नेपाल सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गरेपछि लगातार दोश्रो दिन पनि सेयर बजार नकारात्मक लयमा देखिएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । म्युचुअल फण्डबाहेक सबै सूचकांकहरु ऋणात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा तथा बजेटलाई पर्खिरहेका लगानीकर्ताहरु बजेट घोषणा भईसक्दा पनि ढुक्कले लगानीका लागि तत्पर देखिएका छैनन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा झरेको छ । नेप्सेमा १.६३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.११ अंकले घटेर ४१५.६३६ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ३७ लाख ६९ हजार ८१२ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै राताम्मै भएका छन् । सबैको सेयर घटेको छ । बैंकिङतर्फ २९.०१ अंकले घटेको छ । व्यापारतर्फ ३३.१५ अंकले, होटल तथा पर्यटनतर्फ ३४.३३ अंकले, विकास बैंकतर्फ ५४.२६ अंकले, हाइड्रोपावरतर्फ ३०.८७ अंकले गिरावट देखिएको छ ।

यस्तै फाइनान्सतर्फ २४.११ अंकले, नीर्जिवन बीमातर्फ २३५.४२ अंकले, उत्पादनतर्फ ८०.०८ अंकले, अन्यतर्फ २६.६७ अंकले, माइक्रोफाइनान्सतर्फ ७४.७२ अंकले घटेको छ । जीवन बीमातर्फ ७१.८४ अंकले घटेकाे छ भने लगानी उपसमूहतर्फ ०.८२ अंकले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार भएको छ । बैंकको ५ करोड ३७ लाख ९८ हजार ८०० रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।