पूँजी बजारका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई दिए निर्देशन

-



     सफल आवाज    
     जेठ २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूँजी बजारमा देखिएको समस्या समाधान गर्नका लागि तत्काल पहल गर्न निर्देशन दिएका छन् ।

आन्दोलित बनेका लगानीकर्ताहरुका प्रतिनिधिसँग आज भएको भेटमा देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर पूँजी बजारमा कायम रहेको समस्या समाधान कसरी हल गर्ने हाे साे गर्न निर्देशन दिएका हुन् ।

पूँजी बजारमा कायम रहेका समस्या साधानको लागि प्रधानमन्त्रीलाई भेट्न गएका लगानीकर्ता संघका प्रतिनिधिहरुसंग कुराकानी गर्दै देउवाले गभर्नर अधिकारीलाई लगानीकर्ताको समस्यालाई सुन्ने, समस्या समाधान गरेर त्यसको कार्यान्वयनमा जोड दिन निर्देशन दिएको संघकी अध्यक्ष राधा पोख्रेलले बताएकी छन् ।

उनका अनुसार लगानीकर्तासँग सोमबार भेटेर कुराकानी गर्न प्रधानमन्त्रीले गभर्नरलाई भनेपछि सोमबार गभर्नरसँग कुराकानी हुने भएकाे छ ।

प्रधानमन्त्रीलाई भेटको अवसरमा संघका पदाधिकारीले ४ पृष्ठको ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले उठाउँदै आएको सेयर धितो कर्जामा लगाईएको ४ करोड १२ लाखको मापदण्डलाई खारेज गर्न माग गरेका छन् ।

लगानीकर्ताले सीसीडीलाई सीडीमा कायम गरिएकोमा त्यो मान्ने नहुने भन्दै त्यसलाई खारेज गरेर फेरि सीसीडीलाई नै कायम गर्न माग गरेका छन् ।

ज्ञापन पत्रको तेश्रो बुँदामा भारित औसतदर १५० लागू गर्ने निर्णय भएपनि त्यसलाई खारेज गर्नुपर्ने र पुरानै भारित औसत दर १०० कायम गर्नुपर्ने माग गरिएको छ । यस्तै चौथो बुँदामा पूँजी बजारलाई देशका सातै प्रदेश र ७७ वटै जिल्लामा बिस्तार गर्ने बैंकलाई ब्रोकरको इजाजतपत्र दिन माग गरिएको छ ।