यी चार मन्त्रालयमा विनियाेजित विधेयकका शीर्षकमाथि आज छलफल हुँदै

-



     सफल आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २४ जेठ । प्रतिनिधिसभाको बैठक बिहान ११ः३० बजे बाेलाइएकाे छ। आजको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।

हिजाे विनियोजन विधेयक–२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको थियाे । बैठकमा कानुन न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हाे।

बैठकमा सांसद प्रकाश रसाइली स्नेहीले ५१ प्रतिशत महिला भएको मुलुकको महिला मन्त्रालयका लागि एक प्रतिशत पनि बजेट नछुट्याइनुले कसरी विकास गर्न सकिन्छ भनी प्रश्न गरेका थिए । सांसद अञ्जना बिसङ्खेले कानुन मन्त्रालयको विषय उठाउँदै कानुन कार्यान्वयनको पाटोमा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याइन । उनले भूमि व्यवस्था मन्त्रालयले भूमि वितरण कसरी गर्नै भन्ने विषयमा कोही पनि गम्भीर नभएको गुनासो गरिन् ।

सांसद कृष्णभक्त पोखरेलले तीन वर्षभित्रमा भूमिहीन दलित सबैलाई घर दिने भनिए पनि बजेटले स्पष्ट रुपमा सम्बोधन नगरेको बताए। चितवनलगायत जिल्लाका हजारौँ वर्षदेखि बसेका चेपाङ समुदायको जग्गा दर्ताको कुरासमेत आउन नसकेको उनले बताए ।