
चितवन, ३१ जेठ । अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छाैं । तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला ।
भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँले अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थालेकी छन् । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उनले अहिले नेपालमा आएर प्रयोग गर्न थालेकी हुन् ।
रोजगारीको सिलसिलामा इजरायल पुगेकी चापागाईँ जहाँ काम गर्थिन् त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिकेकी हुन् । सन् २००६ मा रोजगारीका लागि गएकी चापागाईँ सन् २०१६ मा नेपाल फर्केकी हुन्। त्यसपछि पुस्तक व्यवसाय गरेकी उनी दुई वर्षपछि पर्वतमा भएको दुर्घटनामा परेकी थिइन।
दुर्घटनामा परी गम्भीर घाइते भएकी चापागाइँ अहिले आफ्नो शरीरमा केही सुधार भएपछि आफूले विदेशमा सिकेको सीपलाई प्रयोग गर्न थालेकी हुन्। चापागाईँले अहिले तेलबिना काँक्रो, खुर्सानी, गाँजर, चुकन्दरलगायतका अचार बनाइरहेकी छन् । यी खाद्यवस्तुलाई उसिनेर घाममा सुकाएर अचार बनाउने गरेको उनले बताइन ।
उठेर खासै हिँडडुल गर्न नसक्ने उनले आफ्नो सीपको प्रयोगका लागि छोराको साथ लिएकी छन् । कृषि विषय अध्ययन गर्दै आएका छोरा प्रशन्नले अहिले आमालाई पूर्णरूपमा साथ दिएका छन् । व्यवसाय राम्रो भएमा आमालाई काममा सघाउन कर्मचारी राखेर काम अघि बढाउने उनको योजना छ । अचार बनाउनका लागि नुन, लसुन, अमिलोलगायतका सामग्रीमात्रै प्रयोग गर्ने गरिएको छ ।
पूर्णकलाले भनिन्, “स्वास्थ्यवद्र्धक खानका लागि यो अचार निकै उपयुक्त हुन्छ ।” परीक्षण उत्पादनका रूपमा सुरु गरिएको यो व्यवसायलाई आगामी दिनमा व्यावसायिक बनाउने योजना उनको छ । खाँदा नयाँ स्वाद पाउने भएकाले अहिले तत्काल मन नपर्न सक्ने भन्दै उनले केही दिनमा व्यावसायिकरूपमा उत्पादन गरेर अचारलाई बजारमा लैजाने बताइन् ।
वैशाख १६ गतेदेखि चापागाईँले यो अचार बनाउन थालेकी हुन् । अहिलेसम्म १५० डब्बा अचार घरबाटै बिक्री भइसकेको छ । उनले भनिन्, “सुरुआती समयमा बजारमा अचार रुचाइन्छ कि रुचाइँदैन भनेर लागत मूल्यमा नै दिने गरेका छाैं ।” एकपटक प्रयोग गरेका ग्राहकले पुनः माग गर्ने गरेको उनको भनाइ छ । अहिले चितवन, पोखरालगायतका स्थानबाट माग आइरहेको उनले जानकारी दिइन।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




